२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


‘मापसे गरी सवारी चलाउनेलाई २५ हजार जरिवाना गर्नुपर्छ’ (भिडियो)


0
Shares

महानगरीय ट्राफिक महाशाखाले वि.सं. २०६८ साल वैशाख १७ गतेदेखि मापसे चेकिङमा कडाइ गरेको हो ।

ट्राफिक प्रहरीको यो अभियानसँगै मादकपदार्थ सेवनबाट हुने दुर्घटनामा कमी आएको छ । योसँगै राजश्व संकलनमासमेत वृद्धि भएको छ ।

मापसे गरेर सवारी चलाउनेलाई एक हजार रुपैयाँ जरिवानादेखि सवारीचालक अनुमतिपत्रमा प्वाल पार्ने र खारेजी गर्नेसम्मको सजाय दिने गरिएको छ ।

तर, यो जरिवाना पर्याप्त नभएको महानगरीय ट्राफिक महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीको भनाइ छ ।

उनले मापसे गरी सवारी चलाउनेलाई २५ हजार रुपैयाँ जरिवानाको व्यवस्था गर्नुपर्ने बताए ।

महाशाखाले दिएको तथ्यांकअनुसार २०६८ सालदेखि २०७४ चैत मसान्तसम्ममा मादकपदार्थ सेवन गरी सवारी चलाउने २ लाख ६१ हजार १५० सवारीचालक कारबाहीमा परेका छन् । जसमध्ये २ लाख ५९ हजार ६१२ पुरुष र १ हजार ५३८ महिला छन् ।

हालसम्ममा मापसेमा परेकाहरुबाट २३ करोड ७२ लाख ८१ हजार रुपैयाँ राजश्व संकलन भएको महाशाखाको तथ्यांकले देखाएको छ ।

ट्राफिकको सक्रियतासँगै मापसे गरी सवारी चलाएर हुने दुर्घटनाको संख्या भने कम हुँदै गएको छ ।

आर्थिक वर्ष २०७२/७३ मा मापसे गरेर सवारी दुर्घटना गराउँदा १८३ जनाको मृत्यु भएको थियो । त्यस्तै, २०७३/७४ मा १६७ र २०७४/७५ मा १३८ जनाको मृत्यु भएको महाशाखाको तथ्यांक छ ।

साताका अन्य दिनभन्दा शुक्रबार मादकपदार्थ सेवन गरी सवारी चलाउनेहरु बढी हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

पछिल्ला दिनमा महागरीय ट्राफिक महाशाखाले मापसे चेकिङमा कडाइ गरेको देखिएको छैन ।

दुर्घटना न्यूनीकरण र राजश्व संकलनमासमेत प्रभावकारी मानिएको मापसे चेकिङ अभियान फितलो बन्दैगर्दा दुर्घटनाको जोखिम भने बढ्ने सम्भावना देखिएको छ ।

भिडियो हेर्नुहोस्