२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


दाहाल र थापाले चितवनमा पाँच बालबालिकालाई गराए विद्यालय भर्ना


0
Shares

अध्यक्ष दाहालले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर–२८ का माझी र मुसहर समुदायका दुई बालकलाई विद्यालयमा भर्ना गरी अभिभावकत्व ग्रहण गरेका छन् ।

मेघौलीस्थित साझापुर माध्यमिक विद्यालयमा दाहालले स्थानीय राजकुमार मुसहरका ९ वर्षीय छोरा अरुण मुसहर र सुरज माझीका चार वर्ष ६ महिनाका छोरा पत्रुस माझीलाई भर्ना गरी अभिभावकत्व ग्रहण गरेका हुन् ।

सो अवसरमा अध्यक्ष दाहालले सरकारले सुरु गरेको यस ‘महाअभियान’मा सबैलाई सहयोग गर्न आग्रह गरे ।

देशलाई पूर्णसाक्षर बनाउन यो अभियान आएको भन्दै उनले अभियानले जागरण ल्याउने बताए ।

आजको युगको विकासको आधार भनेको शिक्षा रहेको भन्दै उनले शिक्षालाई जीवनउपयोगी बनाउन आवश्यक रहेको उल्लेख गरे ।

यस्तै, गृहमन्त्री थापाले तीनजना बालबालिकालाई विद्यालय भर्ना गराएका छन् ।

उनले चितवनको शक्तिखोरस्थित चर्तुमुखी सामुदायिक विद्यालयमा पुगेर स्थानीय तीनजना बालबालिकाहरुलाई विद्यालय भर्ना गराउँदै अभिभावकत्व ग्रहण गरेका हुन् ।

गृहमन्त्री थापाले स्थानीय सहनशिला चेपाङ, अन्जना बिक र अर्जुन विकलाई विद्यालय भर्ना गराएका हुन् । उनीहरु तीनैजनालाई गृहमन्त्री थापाले पुस्तक र पोसाकसमेत वितरण गरे ।

बालबालिकालाई विद्यालय भर्ना गरेपछि गृहमन्त्री थापाले आफूले विद्यालय भर्ना गराएका विद्यार्थीहरु सफल भएको हेर्न चाहेको बताए ।

सो अवसरमा शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले देशभरमा ८८ हजार २०७ जना बालबालिका विद्यालयबाहिर रहेको भन्दै उनीहरुलाई शिक्षाको पहुँचमा ल्याउनका लागि अभियान सन्चालन गरिएको बताए ।