
सरकारको नीति तथा कार्यक्रम सोमबार प्रदेशप्रमुख बाबुराम कुँवरले प्रदेशसभामा प्रस्तुत् गरेका थिए ।
प्रदेशसभामा प्रस्तुत् नीति तथा कार्यक्रमलाई पारित गरियोस् भन्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रस्ताव गरेकामा उक्त प्रस्तावलाई बहुमतले पारित गरेको हो ।
यसअघि, नीति तथा कार्यक्रममाथिको छलफलमा बुधबार प्रदेशसभा सदस्य मायानाथ अधिकारी, दोबाटे विश्वकर्मा, रामजी बराल (जीवन), कृष्ण थापा, चन्द्रमोहन गौचन, विष्णुप्रसाद लामिछाने, गायत्री गुरुङ, पियारी थापा, धनञ्जय दबाडी, बिन्दुकुमार थापा, दीपक थापा, सावित्रा राना, सरिता गुरुङ, विनोद केसी, मनबहादुर गुरुङ, मनकुमारी गुरुङ, प्रभा कोइराला, जुनादेवी नेपाली र मोहनप्रसाद रेग्मीले बोलेका थिए ।
बोल्ने प्रदेशसभा सदस्यमध्ये सत्तापक्षीय सदस्यले नीति तथा कार्यक्रमले प्रदेशको समृद्धि र विकासका लागि मार्गप्रशस्त गरेको धारणा राखे भने प्रतिपक्षका सदस्यले नीति तथा कार्यक्रमले राजनीतिक आन्दोलनका उपलब्धिमा नेतृत्वदायी भूमिका निर्वाह गर्नेको उपेक्षा गरेको, नीति तथा कार्यक्रम महत्वाकांक्षी भएको उल्लेख गरे ।
छलफलमा उठेका विषयमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकारको भूमिकालाई प्रभावकारी बनाउँदै स्थानीय साधन–स्रोतको अधिकतम् उपयोग गर्दै समृद्धि र विकासमा अघि बढने धारणा राखे ।
नीति तथा कार्यक्रम विशेषगरी आगामी तीन महिनाका लागि लक्षित भएको धारणा राख्दै उनले छलफलमा छुटेका विषयवस्तुलाई आगामी दिनमा समेटेर लैजाने प्रतिबद्धता व्यक्त गरे ।
संघीयताको कार्यान्वयनका सन्दर्भमा यस प्रदेशलाई नमुना प्रदेश बनाउने बताउँदै उनले यसका लागि सबैसँग सहकार्य गर्दै अघि बढ्ने उल्लेख गरे ।
प्रदेशसभाको अर्को बैठक वैशाख ६ गते १ः०० बजे बस्नेछ । रासस
प्रतिक्रिया दिनुहोस्