
नवीनराज कुईंकेल/ईमेज:
लमजुङ, बैशाख ६ । लमजुङको दोर्दीखोलामा निर्माण सुरु भएको ७ बर्षसम्म मोटरेवल पुल सम्पन्न नहुँदा सर्वसाधारणसँगै जलविद्युत् आयोजनासमेत प्रभावित भएका छन् ।
लमजुङको बेसीसहर नगरापालिकाको वडा नं. ११, चिती र दोर्दी गाउँपालिका ४, नौथर जोड्ने दोर्दीखोलामा ७ वर्षअघि पक्की पुलको निर्माण थालिएको हो ।
तर, पुलको काम अझै अलपत्र छ । काम छोडेर ठेकेदार बेपत्ता भएपछि पूर्वी लमजुङबासी समस्यामा छन् ।
डिभिजन सडक कार्यालय दमौलीका अनुसार २०६८ चैतमा शिलान्यास गरिएको उक्त पुलको निर्माण सम्पन्न हुनुपर्ने म्याद २०७० असारसम्म थियो ।
२०६८ चैतमा शिलान्यास भएर काम अघि बढेकोमा अहिलेसम्म काम पुरा हुन सकेको छैन ।
ठेकेदारको आलटालसँगै सडक डिभिजन कार्यालयको वेवास्थाका कारण पुल निर्माणमा ढिलाई भएको सर्वसाधरण बताउँछन् ।
खोलामा हयुमपाइप राखेर अस्थायी आउजाउको बाटो बनाइएपनि मालबाहक सवारी हिँडाउन समस्या हुने गरेको छ ।
पुल नबन्दा निर्माणाधीन जलविद्युत आयोजनामा मात्रै नभई सिङ्गै गाउँपालिकाका बासिन्दा नै समस्यामा परेको दोर्दी गाउँपालिका प्रमुख ओमबहादुर गुरुङ बताउँछन् ।
पुल नबन्दा दोर्दी क्षेत्रका नौथर, पाचोक, गौंडा, ढोडेनी, फलेनीलगायतका स्थानीयलाई आवतजावत, खाद्यान्न ढुवानीलगायतमा समस्या पर्ने गरेको छ ।
पुल छिटो बनाउन पटक पटक दवाव दिइएपनि ठेकेदार र डिभिजन सडक कार्यालयले चासो नदिएको गाउँपालिकाका उपाध्यक्ष डिलबहादुर घले बताए ।
७५ मिटर लम्बाइ र ६ दशमलब २५ मिटर चौडाइको यो पुल बनाउन करिब ४ करोड रुपैयाँ लागत रहेको छ ।
पुल बनाउने ठेक्का पाएको सपना–जयबाबा जेभीले काममा ढिलाई गरेको डिभिजन सडक कार्यालय दमौलीले जनाएको छ ।
यति लामो समयसम्म पनि पुल नबनाउने ठेकेदार कम्पनीलाई कारबाही नगरी म्याद थप गरिरहने डिभिजन सडक कार्यालयको नियतमा भने जिल्लाबासीले प्रश्न उठाएका छन् ।
प्रतिक्रिया दिनुहोस्