
चितवन, वैशाख ७ । काठमाडौंबाट प्यूठान र वीरगञ्ज जाँदै गरेका दुई यात्रुबाहक बसलाई आज बिहान नौ किलोमा विपरीत दिशाबाट जाँदै गरेको ट्रकले ठक्कर दिँदा १३ जना घाइते भएका छन् ।
घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार इच्छाकामना गाउँपालिका–६ मा आज बिहान ३ः२० बजे दुर्घटना भएको हो ।
काठमाडौँबाट प्यूठान जान जाँदै गरेको ना४ ख ६५९१ नम्बरको बस र काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको ना७ख ५०२३ नम्बरको बसलाई भैरहवाबाट पोखरातर्फ जाँदै गरेको लु१ख ५२९४ नम्बरको ट्रकले ठक्कर दिएको हो ।
दुर्घटनामा परी प्यूठानतर्फ जाँदै गरेको बसका चालकसहित १२ यात्रु घाइते र ट्रकका चालकसमेत घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको चितवन मेडिकल कलेज र ११ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।
गम्भीर घाइते हुनेमा ट्रक चालक कपिलवस्तु चिरुरीका ४१ वर्षीय कृष्ण चौधरी, बसका यात्रु प्यूठान खलंगाकी ६० वर्षीया सावीदेवी घर्तीमगर र प्यूठानकै नौगिरीटारकी २७ वर्षीया पवित्रा घर्तीमगर रहेका छन् । (रासस)
प्रतिक्रिया दिनुहोस्