
रसुवा, वैशाख ७ । भूकम्पबाट क्षति पुगेको रसुवाको उत्तरगया गाउँपालिकास्थित ढुंगे आधारभूत विद्यालय निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
एक्सनएड नेपालको आर्थिक सहयोग तथा नेपाल कृषि वन प्रतिष्ठानको प्राविधिक सहयोगमा भूकम्प प्रतिरोधी भवन बनाई विद्यालयलाई हस्तान्तरण गरिएको हो ।
एक करोड ३८ लाख रुपैयाँ लागतमा ६ कोठाको २ तल्ले भवनमा शौचालय तथा धारालगायत बनाइएका छन् । हाल करीब ६० विद्यार्थी रहेको विद्यालयमा भूकम्पले क्षति पुर्याउनुअघि एक सय विद्यार्थी थिए ।
भवन नहुँदा विद्यार्थी संख्या घटेको र भूकम्प प्रतिरोधी भवनसँगै गुणस्तरीय शिक्षामा जोड दिन सके विद्यार्थी बढ्न सक्ने रसुवाका सांसद मोहन आचार्यले बताए ।
रसुवामा भूकम्पबाट क्षतिग्रस्त ८९ विद्यालयमध्ये २१ वटा विद्यालय बनाइसकिएको भने ४८ वटा निर्माणाधीन रहेको जिल्ला शिक्षा कार्यालय रसुवाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्