त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो, मालिन्दो एयरको विमान हटाइयो • Image Khabar Image Khabar


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो, मालिन्दो एयरको विमान हटाइयो


Imagekhabar
७ बैशाख २०७५, शुक्रबार ११:५८

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो, मालिन्दो एयरको विमान हटाइयो

काठमाडौं, वैशाख ७ । १२ घन्टाभन्दा लामो समय अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान तथा अवतरण सुरु भएको छ ।

मालिन्दो एयरको विमान गएराति धावन मार्गमा दुर्घटना भएपछि अवरुद्ध बन्दा अन्तर्राष्ट्रिय र आन्तरिक दुबै उडान हुन सकेका थिएनन् । बिहान करिब ९ बजेदेखि आन्तरिक उडान खुला गरिएको विमानस्थलमा केहीबेर अघि अन्तर्राष्ट्रिय उडानसमेत सुरु भएको छ ।

धावनमार्गमा चिप्लिएर जमीनमा पुगेको विमानलाई तानेर धावनमार्गमा ल्याएपछि आन्तरिक र अन्तर्राष्ट्रिय दुबै उडान हुन सुरु भएको हो । जमिनमा धस्सिएको विमान तानेर धावनमार्गमा ल्याउन लामो समय लाग्दा सयौं यात्रु अलपत्र बनेका थिए ।

गएराति पौने दश बजे काठमाडौंबाट मलेशियाको क्वालालाम्पुरका लागि उड्न लागेको मालिन्दो एयरको विमान धावनमार्गबाट चिप्लिँदा विमानस्थल अवरुद्ध बनेको थियो । विदेशबाट यात्रु लिएर आएका विमान अवतरण गराउन नसक्दा नजिकका अरु विमानस्थलतर्फ पठाउनु परेको थियो ।

धावनमार्गबाट चिप्लिएर चौरमा विमान पुगे पनि मानवीय क्षति हुनबाट भने जोगिएको नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिए ।

सो विमानमा १३९ यात्रु थिए ।

प्रतिक्रिया दिनुहोस्