Logo २९ माघ २०८२, बिहिबार | Thu Feb 12 2026


दक्ष २ प्रतिशत मात्र वैदेशिक रोजगारीमा


0
Shares

भक्तपुर, बैशाख ८ । सरकारले वैदशिक रोजगारमा जाने युवालाई तालीम दिएर पठाउने तयारी गरेको छ ।

राष्ट्रिय युवा परिषद्बाट शुक्रबार आयोजित ‘युवाका मुद्दा, युवालक्षित कार्यक्रमका लागि सञ्चार क्षेत्रको भूमिका सम्बन्धमा पत्रकारसँग’ अन्तक्र्रियामा युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले अहिले अर्धदक्ष युवा विदेश गइरहेकाले अब तालीम दिएर मात्र दक्ष युवालाई मात्र विदेश पठाउने बताए ।

“थोरै ज्ञान सीप सिकेर विदेश गएको खण्डमा दोब्बर तलब पाउँछन्”, उनले भने, “त्यसैले तालीम दिएर मात्र युवा पठाउने तयारीमा रहेका छौं ।” उनले विद्यालय तहबाट नै प्राविधिक शिक्षा सञ्चालन गर्नुपर्ने बताए ।

वैदेशिक रोजगारका लागि अदक्ष ७४ प्रतिशत, अर्धदक्ष २४ प्रतिशत र दक्ष दुई प्रतिशत युवा जाने गरेका छन् ।

सचिव सापकोटाले युवालाई मुलुकमा परिचालन गर्ने योजना बनाइरहेको जानकारी दिए ।

उनले सञ्चारमाध्यमलाई युवाका सकारात्मक सफलताका कथालाई सम्प्रेषण गर्न आग्रह गरे । सचिव सापकोटाले युवा नीति २०७२ लाई परिमार्जन गरी थप युवामैत्री बनाइने बताए ।

कार्यक्रममा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले युवाका विषय स्थापना गर्न सञ्चारकर्मीले अहं भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै दुई वर्षमा मुलुकका धेरै युवालाई स्वरोजगार बनाइने जिकिर गरे ।

उनले ४६० गाउँपालिकामा विद्युतीय पुस्तकालय र सबै स्थानीय तहमा युवामैत्री उद्यान बनाइने पनि बताए ।

कार्यक्रममा परिषद्का प्रशासकीय अधिकृत मुक्तिसिंह ठकुरीले गरीब एवं विपन्न युवालाई लक्ष्य गरेर स्वरोजगार कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । कार्यक्रममा देशभरिका ३० पत्रकारको सहभागिता थियो । रासस