१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


रानीपोखरी पुनर्निर्माणको काम आगामी जेठ १ गतेबाट सुरु हुने


0
Shares

काठमाडौं, बैशाख ८ । तीन वर्षअघि गएको शक्तिशाली भूकम्पले ध्वस्त भएको काठमाडौंको रानीपोखरी पुनर्निर्माणको काम आगामी जेठ १ गतेबाट सुरु हुने भएको छ ।

रानीपोखरी पुनर्निर्माणका क्रममा प्रयोग भएका आधुनिक निर्माण सामग्री यही वैशाख मसान्तसम्ममा निकालेर जेठ १ गतेदेखि पुनःनिर्माणको काम सुरु गरिने भएको हो ।

पछिल्लो निर्णयअनुरुप निर्माणको काम शुरु गर्नुपर्ने भएकाले वैशाख मसान्तसम्ममा सबै आधुनिक निर्माण सामग्री हटाउने तयारी भइरहेको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

परम्परागत शैली मासिएको भनी गुनासो आएपछि गोरखा भूकम्पबाट क्षतिग्रस्त पोखरीको पुनर्निर्माणका क्रममा प्रयोग भएका निर्माणका सामग्री हटाइने निर्णय भएको थियो ।

परम्परागत शैलीमा निर्माण हुनुपर्ने स्थानीयवासीको दवावपछि करिब तीन महिनादेखि पोखरी पुनर्निर्माणको काम रोकिएको थियो ।

रोकिएको काम शुरु गर्न गत चैत २२ गते संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारी, काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाललबीच भएको छलफलले आधुनिक निर्माणका सामग्री हटाउने निर्णय गरेको थियो ।

मन्त्री अधिकारीले सम्पदा व्यवस्थापन स्थानीय सरकारले नै गर्ने भएकाले महानगरको काममा सबैलाई सहयोगीरुपमा रहन आग्रह गरेका छन् ।

यसअघि महानगरपालिकाले विज्ञको सल्लाहअनुरुप पुनर्निर्माण गरिनुपर्ने बताउँदै आएको थियो ।

पोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण विभागले गर्दै गरेको भए पनि अन्य सबै काम कामपाको जिम्मामा आएको छ ।

करिब ४ सय वर्ष पुरानो ऐतिहासिक रानीपोखरी २०७२ साल वैशाखको भूकम्पले क्षति भएको छ ।