
निकारागुवा, वैशाख १० । निकारागुवामा सरकारविरुद्ध हुँदै आएको प्रदर्शनका क्रममा एक पत्रकारको हत्या भएको छ ।
स्थानीय पत्रकार तथा एल मेरिदिआनो कार्यक्रमका निर्देशक एन्जेल गहोनाको हत्या भएको हो । दक्षिणी क्यारेबियाली तटमा रहेको ब्लुफिल्ड्स सहरमा हत्या हुनुअघि उनी फेसबुकमा प्रत्यक्ष (लाइभ) रिपोर्टिङ गरिरहेका थिए ।
सामाजिक संजालमा उनले हत्या हुनुअघि तयार पारेको भिडियो भाइरल भएको छ । भिडियोमा उनी सरकारविरोधी प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले मेयर कार्यालयमा पु¥याएका क्षतिबारे बताइरहेका देखिन्छन् ।
अचानक गोली लागेर उनी ढल्छन् । गोली कसले चलाएको हो भन्ने प्रष्ट हुन सकेको छैन ।
गत बुधबारदेखि निकारागुवामा सामाजिक सुरक्षा र पेन्सनमा सुधारका लागि सरकारलाई दबाब दिन प्रदर्शन हुँदै आएको छ । मजदुर तथा कर्मचारीलाई पेन्सनबापत प्राप्त हुने रकममा ५ प्रतिशत कमी गरिएपछि विरोध प्रदर्शन भएको हो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्