६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024


कार्यान्वयन फितलो हुँदा योजनाले सफलता पाएनन् : मुख्यमन्त्री भट्ट


0
Shares

बिराज रोस्यारा

कैलाली, मंसिर २ । कार्यान्वयन पक्ष फितलो हुँदा विगतमा बनाइएका योजनाले सफलता पाउन नसकेको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बताएका छन् । कर्मचारी र राजनीतिकर्मीबाटै दीर्घकालिन योजना बनाइने भए पनि सोही पक्षबाट कार्यान्वयन नहुँदा योजना नाममा मात्रै सीमित रहेको उनले बताए ।

राष्ट्रिय योजना आयोगद्वारा आयोजित दीगो विकास लक्ष्यमैत्री योजना, अनुगमन, मुल्यांकन तथा तथ्यांक सम्बन्धी प्रदेशस्तरीय क्षमता विकास कार्यक्रम उद्घाटन कार्यक्रममा मुख्यमन्त्री भट्टले राम्रो योजना बनाएर काम गर्न खोज्दा सहयोगभन्दा विरोध हुने प्रबृतिका कारण पनि योजना अलपत्र हुने गरेको बताए ।

एउटा मन्त्रालयले योजना बनाएर काम गर्न खोज्दा त्यसमा अर्को मन्त्रालयबाटै बाधा आउने गरेको उनले बताए । दीर्घकालिन योजना बनाएर काम गर्न सके सुदूरपश्चिममा भएका श्रोत साधनबाटै आर्थिक समृद्धि हासिल गर्न सकिने मुख्यमन्त्री भट्टको भनाइ छ ।

स्वच्छ भावना तथा निस्वार्थ भएर राजनीति गर्ने व्यक्ति र कर्मचारीले काम गरेमा कुनै कुरा असम्भव नभएको उनले स्पष्ट पारे ।

फरक प्रसंगमा बोल्दै मुख्यमन्त्री भट्टले देशमा तीन तहका सरकार भए पनि प्रदेश सरकार नयाँ भएकाले जनताको अपेक्षा प्रदेश सरकारप्रति नै रहेको भन्दै अहिलेको समय कसैलाई दोषी बनाएर उम्किन खोज्ने समय नभएको बताए । उनले आफु इमान्दारीताका साथ काम गर्ने र अनुगमनको पनि अनुगमन गरेर गल्ती गर्नेलाई कारवाही समेत गरिने उनले बताए ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले विगतका दिनमा सरकारले सुदूरपश्चिमलाई विभिन्न योजनाबाट बञ्चित गरेकाले पछि परेको गुनासो गरे ।

सुदूरपश्चिम विभिन्न सम्भावना बोकेको प्रदेश भए पनि यहाँको श्रोत, साधनको सदुपयोगका लागि कसैले पहल नगर्दा यस क्षेत्रको विकास हुन नसकेको उनको भनाइ थियो ।

देशका ७ वटा प्रदेशमध्ये विकासका हिसाबले सुदूरपश्चिम प्रदेश अहिले पाचौं नम्बरमा पर्दछ । नेपालीको औसत आयु ७० बर्ष भए पनि सुदूरपश्चिम प्रदेशका नागरिको औसत आयु ६७÷६८ रहेको राष्ट्रिय योजना आयोगको तथ्यांकमा उल्लेख छ ।

मानब विकास सूचकांकमा कमजोर अवस्थामा रहेको सुदूरपश्चिममा ८७ प्रतिशत जनसंख्या कृषिमा निर्भर छ । ७ वटै प्रदेशमा सबैभन्दा बढी सम्भावना बोकेको प्रदेश सुदूरपश्चिम नै भएपनि यस प्रदेशका लागि धेरै काम गर्नुपर्ने भएकाले प्रदेश सरकारले निस्वार्थ रुपमा काम गरे आर्थिक समृद्धि सम्भव हुने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कडेलले बताए ।

सुदूरपश्चिममा आजदेखि शुरु भएको प्रदेशस्तरीय क्षमता विकास कार्यक्रम ३ दिनसम्म चल्ने छ ।