
डिल्लीराज पन्त/
कञ्चनपुर, वैशाख ११ । सत्तारुढ दलकै भ्रातृ संगठनले कञ्चनपुरमा आन्दोलनस्वरुप जिल्ला शिक्षा अधिकारीको कुर्सी जलाएका छन् ।
सत्तारुढ दल नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले कञ्चनपुरका जिल्ला शिक्षा अधिकारी अमरप्रसाद भट्टको कुर्सी जलाईदिएका हुन् ।
राष्ट्रिय भर्ना अभियान चलेका बेला निजी विद्यालयमा हुने शैक्षिक विकृती रोक्न शिक्षा अधिकारीले आलटाल गरेको भन्दै क्रान्तिकारीले कुर्सी जलाएका हुन् । उनीहरुले शिक्षा अधिकारी भट्टको कार्यकक्ष बाहिर रहेको नेमप्लेट पनि निकालेर बाहिर फालिदिएका छन् ।
अखिल क्रान्तिकारी कञ्चनपुरका सचिव किशोर भट्टका अनुसार शैक्षिक सुधारका लागि शिक्षा कार्यालयसँग पटक पटक आग्रह गर्दा पनि सुनुवाइ नभएपछि आन्दोलन घोषणा गरिएको हो ।
पूर्वघोषित आन्दोलनका कार्यक्रम अनुसार मंगलबार शिक्षा अधिकारीलाई कार्यकक्षमै थुन्ने कार्यक्रम थियो तर, शिक्षा अधिकारी भट्ट कार्यालयमा अनुपस्थित भएपछि उनको कुर्सी जलाईएको क्रान्तिकारीका जिल्ला सचिव भट्टले बताए ।
घटनालगत्तै प्रहरीले क्रान्तिकारीका दुई नेतालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य भीम भट्ट र पुर्वजिल्ला अध्यक्ष सिके भट्टलाई नियन्त्रणमा लिईएको हो ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्