
रेनु श्रेष्ठ/ईमेज:
गोरखा, बैशाख १२ । तीन वर्षअघि गएको भूकम्पको केन्द्र विन्दु गोरखामा जम्मा १८ हजार हाराहारीमा मात्र निजी आवास पुनर्निर्माण भएका छन् ।
पुनर्निर्माणले गति लिन नसक्दा अझैसम्म पनि धेरै प्रभावितले घर बनाउन सकेका छैनन् ।
गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको तीन बर्ष पुगेको छ । जसमा बारपाकमा मात्र १ हजार ३ सय १ घर भत्केकामा अहिले ५ सय ४३ ले मात्र अनुदानको तेस्रो किस्ता पाएका छन् ।
अनुदानको किस्ता पाउने झ्नटिलो प्रक्रिया, निर्माण सामाग्री र कामदारको अभावको कारण घर बनाउने काम ढिलो भएको बारपाकका कृष्ण बहादुर गुरुङ्ग बताउँछन् ।
त्यस्तै गोरखा लाप्राकका भूकम्प पीडितका लागि गैरआवासीय नेपाली संघले लाप्राककै गुप्सीपाखामा बनाउन थालेको ५ सय ७३ घर निर्माण काम पनि भौगोलिक विकटता र मौसमी प्रतिकूलताको कारण समयसीमा लम्बिदै गएको छ ।
२०७३ माघ १५ देखि निर्माण शुरु भएको नमुना बस्ती निर्माण सकेर आगामी दशैंसम्ममा हस्तान्तरण गर्ने लक्ष्य रहेको निर्माणमा खटिएका इन्जिनियर रन्जन उप्रेतीले जानकारी दिए ।
भूकम्पबाट गोरखामा ६१ हजार ३ सय १६ घर भत्केकोमा अहिलेसम्म ४३ हजार ९ सय ११ जनाले र १८ हजार ४ सय ३ जनाले तेस्रो किस्ता बुझेको जिल्ला आयोजना कार्यान्वयन इकाइ गोरखाका प्रमुख इन्जिनियर रोशन श्रेष्ठको भनाइ छ ।
निजी आवास पुननिर्माणलाई गति दिन भूकम्पपीडित अनुदानको किस्ताको झ्नझटिला प्रक्रिया सहज बनाउने तर्फ सरकारको ध्यान जान जरुरी देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्