२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


डोनाल्ड ट्रम्प क्यालिफोर्नियामा लागेको भीषण डढेलो प्रभावित क्षेत्रमा


0
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यालिफोर्नियामा भएको अमेरिकी इतिहासकै सबैभन्दा भीषण मानिएको डढेलोले निम्त्याएको विनाशको अवलोकन गरेका छन् ।

‘क्याम्प फायर’ नाम दिइएको डढेलोका कारण हालसम्म कम्तिमा ७१ जनाको मृत्यु भइसकेको छ । डढेलोमा परेर एक हजारभन्दा बढी मानिस हराइरहेका छन् ।

अमेरिकी अधिकारीहरुले मृतकको संख्या अझै बढ्न सक्ने बताएका छन् । डढेलोका कारण प्याराडाइज नगर लगभग ध्वस्त भएको छ ।

यो नगर पूर्णरुपमा पुनर्निर्माण गर्नुपर्ने आवश्यकता रहेको विज्ञहरुले बताएका छन् ।

डढेलो प्रभावित क्षेत्रको अवलोकनपछि राष्ट्रपति ट्रम्पले प्याराडाइज नगरमा सम्बोधन गर्दै डढेलोको गरेको विनासको दृश्य देख्दा आफूलाई दुःख लागेको बताए ।

उनले जंगलको कमजोर व्यवस्थापनका कारण विपद् निम्तिएको दाबी पनि गरे ।

जंगलको व्यवस्थापनमा सुधार गर्न वातावरण संरक्षणवादी समूहहरूसँग मिलेर काम गर्नुपर्ने उनले बताए ।

राष्ट्रपति ट्रम्पले डढेलो नियन्त्रणमा खटिएका र हराएकाहरुको खोजीमा सक्रिय रहेकाहरुको कामको प्रशंसासमेत गरे ।

‘क्याम्प फायर’ करिब ५० प्रतिशत नियन्त्रणमा आइसकेको छ ।

यद्यपि यसलाई पूर्णरूपमा नियन्त्रणमा लिन अझै केही समय लाग्ने बताइएको छ ।(एजेन्सी)