
बिहीबार इलामको ठूलो टुँडीखेलमा भएको अन्तिम क्वार्टरफाइनल खेलमा थ्रीस्टारले चिरप्रतिद्वन्द्वी नेपाल पुलिस क्बललाई ‘टाइब्रेकर’मा ४–३ ले पराजित गर्यो ।
जितसँगै थ्रीस्टारले शनिबार हुने दोस्रो सेमिफाइनलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँगको भेट पक्का गरेको छ ।
निर्धारित् र अतिरिक्त समयमासमेत दुवै टिबाट १–१ गोलको बराबरी भएपछि भएको टाइब्रेकरमा थ्रीस्टारले बाजी मारेको हो ।
पेनाल्टी सुटआउटमा थ्रीस्टारका विमल घर्तीमगर, निराजन खड्का, रजीन धिमाल र रुपेश केसीले गोल गरे । सुनिल बलको प्रहार भने पुलिसका गोलरक्षक रोशन खड्काले बचाए ।
पुलिसका तर्फबाट रेजिन सुब्बा, तेज तामाङ र दिनेश राजवंशीलेमात्र गोल गरे । सुमन लामा र हेम तामाङको प्रहार थ्रीस्टारका गोलरक्षक एलन न्यौपानेले उत्कृष्ट बचाउ गर्दै टिमलाई अन्तिम चारमा पुर्याए ।
खेलको ‘म्यान अफ दी म्याच’समेत थ्रीस्टारका गोलरक्षक न्यौपाने नै घोषित भए । उनले नगद १० हजार रुपैयाँ पाए ।
यसअघि, खेलको २६औं मिनेटमा पुलिसका रेजिन सुब्बाले गोल गर्दै टिमलाई सुरुआती अग्रता दिलाएका थिए । ७४औं मिनेटमा थ्रीस्टारका रजीन धिमालले बराबरी गोल फर्काएका थिए ।
प्रतियोगिताअन्तर्गत शुक्रबार हुने पहिलो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लब र मनाङ–मर्स्यादी क्लब आमने–सामने हुनेछन् । आर्मी माइभ्याली गोल्डकप पहिलो संस्करणको विजेता हो ।
१२ टिम सहभागी वैशाख १७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद ६ लाख ६६ हजार ६६७ र उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्