अभिभावक नहुँदा पढाई छोड्नु पर्ने बाध्यता • Image Khabar Image Khabar


अभिभावक नहुँदा पढाई छोड्नु पर्ने बाध्यता


Imagekhabar
१४ बैशाख २०७५, शुक्रबार ०९:२०

अभिभावक नहुँदा पढाई छोड्नु पर्ने बाध्यता

डीबी विष्ट/
बझाङ, वैशाख १४ । बझाङ जिल्लामा बीचमै स्कुल छोड्ने बालबालिकाहरुमा बढीजस्तो दलित समुदायका रहेको एक सामुदायिक अध्यन केन्द्रको तथ्यांकले देखाएको छ । विभिन्न घरायसी तथा आर्थिक समस्याका कारण बीचमै स्कुल छोड्ने दर उच्च रहेको जयपृथ्वी सामुदायिक अध्ययन केन्द्रको तथ्यांकले देखाएको हो ।

कतिपय बालबालिकाहरुको विद्यालय पढ्ने चाहना भए पनि पढाई खर्च जुटाउन सक्ने अभिभावक नहुँदा बीचमा नै विद्यालय छोड्नु पर्ने अवस्था आएको हो ।

बझाङको थलारा गाउँपालिका–५ की ११ वर्षीया सुर्मा बादीलाई र उनका भाई १० वर्षीय विजय बादीको स्कुल पढ्ने चाहना भए पनि अभिभावकविहीन हुनु पर्दा पढाई छोड्नुपर्ने बाध्यता आइलागेको छ ।

उनीहरुका आमाबुबाको २ बर्ष अघि निधन भएको थियो । सुर्माकी आमा विमला बादीले २ बर्ष अघि घरायसी समस्या खेप्न नसकी सेती नदीमा हामफालेर आत्महत्या गरेकी थिइन् । यस्तै उनका बुबा खम्म बादी पैसा कमाउने र छोराछोरीलाई शिक्षा दिने आशमा भारत गएका उनको भारतमै मृत्यु भएको थियो ।

घरका अभिभावक कोही पनि नभएपछि सुर्मा र उनका भाई विजय बादी आफन्त नाता पर्ने बज्यै पुनीदेवी बादीको घरमा बस्दै आएका छन् ।

सानै उमेरमा विद्यालय जाने गरेका भए पनि अहिले आर्थिक अभाव, कापी कलम किन्न सक्ने अवस्था नभएका कारण आफुहरुले विद्यायमा भर्ना नै नगरेको सुर्माले गुनासो गरिन् । ‘मसँगका सबै साथीहरुले विद्यालय भर्ना गरेका छन्,’ आँखा भरी आँसु पादै सुर्माले भनिन्, ‘म र मेरो भाईको अहिलेसम्म भर्ना भएको छैन ।’

आफूहरुलाई अलक्षिनी भन्दै आफन्तहरुले पनि गाली गरेको उनको भनाइ छ । ‘कसैले दिए खान पाइन्छ, नत्र धेरैजसो दिन त भोकभोकै बस्नु पर्ने हुन्छ, आफन्तहरुले खाईसकेपछि हामीले खाना खान पाउँछौं, यस्तो अवस्थामा लुगाफाटो, किताब, कलम कहाँबाट ल्याउनु र पढ्न पाउनु ?’ सुर्मा भन्छिन् ।

उनी अहिले कक्षा ४ मा भर्ना हुनु पर्ने हो । ब्यापारीहरुका भारी बोकेर गुजारा चलाउँदै भाइको समेत पेट भर्दै आएकी उनी अभिभावक नहुँदा पढ्न नपाएको गुनासो गर्छिन् ।

यस्तो समस्या सुर्माकोमात्रै हाईन । यस्तै समस्या विमली बादीलाई समेत छ । उनका समेत अभिभवक छैनन् । उनी अहिले ९ बर्षकी भइन् । विमलीकी आमाको मानसिक सन्तुल बिग्रिएको छ । उनका बुबा मदिरा सेवन गरेर दिनभर लठ्ठ हुन्छन् । विमलीलाई स्कुल पढ्ने ठुलो धोको छ । तर उनले समेत स्कुल छोड्नु परेको छ ।

बझाङ जिल्लाको सबैभन्दा बढी विपन्न भनेर चिनिने बादी समुदायमा स्कुल छोड्ने दर उच्च छ । २८ परिवार बसोबास गर्ने थलराका बादी समुदायका १६ बर्षभन्दा मुनीका १८ जना बालबालिकाहरुले स्कुल छोडेको जयपृथ्वी सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष जगदीश रोकायाले बताए ।

प्रतिक्रिया दिनुहोस्