
कोरिया विभाजनको ६५ वर्षपछि दक्षिण कोरिया प्रवेश गर्ने पहिलो उत्तर कोरियाली सर्वोच्च नेता बनेका नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनबीच सीमावर्ती गाउँ पानमुनजोममा शुक्रबार भएको ऐतिहासिक शिखरवार्तापछि यस्तो घोषणा गरिएको हो ।
दुवै नेताले यसै वर्ष दुई कोरियाबीच शान्ति, समृद्धि र एकीकरणसम्बन्धी सम्झौता हुने पनि घोषणा गरेका छन् ।
दुई चरणमा भएको दुईपक्षीय वार्ता र शीर्ष नेतृत्वबीच आधा घन्टा लामो एक्लाएक्लै वार्तापछि ९ बुँदे पानमुनजोम घोषणापत्रसमेत जारी गरिएको छ ।
‘दुवै नेता कोरियाली प्रायद्वीपमा अब कुनैपनि युद्ध नहुने र शान्तिको नयाँ युग प्रारम्भ भएको घोषणा गर्दछन्’–घोषणापत्रमा भनिएको छ ।
घोषणपत्रमा यसै वर्ष कोरियाली युद्ध अन्त्यको औपचारिक घोषणा गर्ने, आणविक निःशस्त्रीकरणका लागि सहकार्य गर्ने, आगामी हिउँदमा दक्षिण कोरियाली राष्ट्रपति मुनले उत्तर कोरियाको भ्रमण गर्ने उल्लेख छ ।
यस्तै जल, जमिन र आकाशमा द्वेषपूर्ण गतिविधि बन्द गर्ने, मे १ देखि सीमा क्षेत्रमा प्रचारबाजी बन्द गर्ने, आगामी अगष्टमा युद्धकालमा बिछोडिएका परिवारको पुनःमिलन गराउने, रेलवे सेवा पुनःस्थापित गर्ने र एसियाली गेम्समा संयुक्तरुपमा सहभागी हुने सहमति भएको पनि घोषणापत्रमा उल्लेख छ ।
शिखरवार्तापछि आयोजित पत्रकार सम्मेलनमा दक्षिण कोरियाली राष्ट्रपति मुनले आफूहरु पूर्णआणविक निःशस्त्रीकरणमासमेत सहमत भएको बताए ।
यस्तै, उत्तर कोरियाली नेता किमले आफूहरु आपसमा भिड्ने मान्छे नभएको भन्दै एकीकृतरुपमा बस्नका लागि लामो समयदेखि आजको दिनको प्रतिक्षा भएको उल्लेख गरे ।
यसअघि, वार्ता थाल्दै दुवै नेताले शिखरवार्ता गर्ने कदमप्रति एकर्काको मुक्तकन्ठले प्रशंसा गरेका थिए ।
निःशस्त्रीकरण गरिएको शान्तिक्षेत्र पानमुनजोमको दक्षिणतर्फको भू–भागमा बनाइएको ‘पिस हाउस’मा दुई नेताले वार्ता गरेका हुन् । दुई नेताले भेट गर्दा निकै हौसलापूर्ण भावका साथ हात मिलाएका थिए ।
वार्ता थाल्नुअघि आगन्तुक पुस्तिकमा किमले अब एक नयाँ इतिहासको सुरु हुने भन्दै ‘शान्तिका लागि यो दिन इतिहासको सुरुआती विन्दु हुने’ उल्लेख गरेका थिए ।
सन् १९५३ मा दुई कोरियाबीचको युद्ध भएयता दक्षिण कोरियाली भूमिमा पाइला टेक्ने किम जोङ उन पहिलो उत्तर कोरियाली नेता हुन् ।
दुवै नेतालाई परम्परागत कोरियाली सम्मान गारद दिइएको थियो भने त्यसक्रममा दुई देशको राष्ट्रियगान पनि बजाइएको थियो ।
दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनले दुई देशबीच शिखर बैठक हुनुअघि नाकामा स्थानीय समयअनुसार बिहान साढे ९ बजे किमलाई स्वागत गरेका थिए । (एजेन्सी)
यो पनि पढ्नोस्
प्रतिक्रिया दिनुहोस्