
शुक्रबार इलामको ठूलो टुँडीखेलमा भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई १–० ले पराजित गर्दै मनाङ उपाधिनजिक पुगेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको खेलको ५८औं मिनेटमा राष्ट्रिय टिमका स्ट्राइकरसमेत रहेका मनाङका अन्जन विष्टले गोल गरे ।
हेमन गुरुङले प्रहार गरेको फ्रिकिकलाई सदुपयोग गर्दै विष्टले हेडमार्फत् बललाई जाली चुमाएका हुन् । विष्टले गरेको त्यही एक गोल नै मनाङको जितमा निर्णायक बन्यो ।
खेलको ‘म्यान अफ दी म्याच’ पनि गोलकर्ता विष्ट नै घोषित भए । उनले नगद १० हजार रुपैयाँ पाए ।
प्रतियोगिताअन्तर्गत् शनिबार हुने दोस्रो सेमिफाइनल खेलमा थ्रीस्टार क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लब भिड्नेछन् ।
प्रतियोगिताको विजेता टिमले नगद ६ लाख ६६ हजार ६६७ र उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।
माइभ्याली फुटबल क्लबको आयोजनामा वैशाख ६ गतेदेखि सन्चालित प्रतियोगितामा नेपाल, भारत र बंगलादेशका गरी १२ टिमले सहभागिता जनाएका थिए ।
प्रतिक्रिया दिनुहोस्