
शनिबार साँझ दिल्लीको घरेलु मैदान फिरोज शाह कोटला रंगशालामा भएको खेलमा दिल्लीले कोलकाता नाइटराइडर्सलाई ५५ रनले पराजित गरेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित् २० ओभरमा ४ विकेटको नोक्सानीमा २१९ रन बनाएको थियो ।
विशाल योगफल बनाउनेक्रममा दिल्लीका नयाँ कप्तान श्रेयस अऐरले ४० बलमा अविजित रहँदै ९३ रन बनाए । जसमा १० छक्का र ३ चौका सामेल थियो ।
लगातार खराब प्रदर्शनका कारण दिल्लीका कप्तान गौतम गम्भीरले राजीनामा दिएपछि अऐर नयाँ कप्तान बनेका हुन् ।
दिल्लीका लागि ओपनरद्वय पृथ्वी शावले ६२ र कोलिन मुन्रोले ३३ तथा ग्लेन म्याक्सवेलले २७ रनको योगदान गरे ।
जवाफमा २२० रनको विजयी लक्ष्य पछ्याएको कोलकाताले पूरा २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १६४ रनमात्रै बनाउन सक्यो ।
कोलकताका लागि आन्द्रे रसेलले सर्वाधिक ४४ रन जोडे । शुबमन गिलले ३७, सुनिल नारिनले २६ रन बनाएको इनिङ्समा कप्तान दिनेश कार्तिकले १८ रनको योगदान गरे ।
यो जितपछि नेपाली खेलाडी सन्दीप लामिछानेसमेत सामेल टिम दिल्ली ४ अंकसहित लिगको अंकतालिकामा सातौं स्थानमा छ । समान ७ खेलबाट ६ अंक जोडेको कोलकाता चौथो स्थानमा छ । सन्दीपले अहिलेसम्म खेल खेल्ने मौका भने पाएका छैनन् ।
यस्तै, चेन्नई सुपरकिंग्स ६ खेलबाट १० अंक जोड्दै अंकतालिकामा शीर्ष स्थानमा रहेको छ भने समान खेलबाट मुम्बई इन्डियन्स २ अंकसहित पुछारमा छ ।
प्रतिक्रिया दिनुहोस्