पेरुमा मानव इतिहासकै सबैभन्दा ठूलो ‘नरबली’ दिइएको अवशेष फेला • Image Khabar Image Khabar


पेरुमा मानव इतिहासकै सबैभन्दा ठूलो ‘नरबली’ दिइएको अवशेष फेला


Imagekhabar
१५ बैशाख २०७५, शनिबार १३:५२

पेरुमा मानव इतिहासकै सबैभन्दा ठूलो ‘नरबली’ दिइएको अवशेष फेला

काठमाडौं, बैशाख १५ । पेरुमा मानव इतिहासकै सबैभन्दा ठूलो नरबली दिइएको आशंका गरिएको छ ।

उत्खनन्का क्रममा भेटिएको प्रमाणअनुसार मानव इतिहासमै धेरै बालबालिकाको बलि दिइएको हुन सक्ने आशंका पुरातत्वविद्हरुले गरेका हुन् ।

पेरुको उत्तरी तटीय क्षेत्रको प्राचीन चिमु सभ्यताको केन्द्रनजिकै पर्ने आधुनिक पेरुको ट्रुजिल्लोमा करीब साढे पाँच सय वर्ष पहिले झण्डै एउटै समयमा १४० जना बालबालिकाको बलि दिइएको अनुसन्धानले देखाएको हो ।

एउटै घटनामा बालबालिकासँगै ऊँट प्रजातिको लामा भनिने दुई सयभन्दा बढी भेडा जस्ता बच्चा जनावरको पनि बलि दिइएको छ ।

अनुसन्धान नेशनल जियोग्राफिक सोसाइटीको आर्थिक सहयोगमा गरिएको हो ।

तीन हजार ५ सय वर्ष पुरानो एउटा मन्दिरको उत्खननका क्रममा सन् २०११ मा पहिलो पटक नरबलि दिइएको वान्चाकिटो लास् लामास् भन्ने ठाउँबाट ४० जना पीडित र ७४ वटा लामा जनावरका बच्चाको अवशेष फेला परेको थियो ।

पाँचदेखि १४ वर्षमुनिका १४० बालबालिकाको बलि दिइएको अनुसन्धानको निचोड रहेको नेशनल जियोग्राफिकले जनाएको छ ।

छातीको बीचको हड्डीसहित अरु हड्डीमा देखिएको खतले बालबालिका नरबलिको शिकार भएको पुष्टि भएको हो । पीडितको मुटु झिकिएको हुनसक्ने आशंका छ ।

त्यहाँ भेटिएका कपडाका अवशेषको कार्बन डेटिङ विधिबाट निर्धारण गर्दा उक्त घटना सन् १४०० देखि १४५० को अवधितिर भएको बताइएको छ ।

चन्द्रमाको पूजा गर्ने चिमुहरुमाथि त्यसको केही दशकपछि इंका सभ्यताले विजय हासिल गरेको थियो ।

त्यसको करीब ५० वर्षपछि दक्षिण अमेरिका पुगेका स्पेनीहरुले इंकामाथि विजय हासिल गरेका थिए ।(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्