
-दुर्गा उपाध्याय/ईमेज
कन्चनपुर । कञ्चनपुरमा पेट्रोलियम पदार्थको अभाव भएसँगै कालोबजारी बढेको छ ।
पेट्रोल पप्पहरुले कृत्रिम अभाव सिर्जना गरेर कालोबजारलाई प्रश्रय दिए पनि स्थानीय प्रशासन भने बेखबर जस्तै बनेको सर्वसाधारणको गुनासो छ ।
दसैं–तिहारको बिदाका बेला पेट्रोलियम पदार्थको आपूर्ति नभएको बहाना पारेर कञ्चनपुरमा पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना भएको छ ।
यही अभावको मौकामा चौका हान्न कतिपयले कालोबजारीको धन्दा चलाइरहेका छन् ।
पप्पहरुमा डिजेल तथा पेट्रोलको अभाव भए पनि बढी मूल्य तिर्न सके बजारमै छ्याप्छ्याप्ती पाउन सकिन्छ ।
अर्कोतिर भारतको तुलनामा नेपालमा पेट्रोलको मूल्य ९ देखि १३ रुपैयाँ र डिजलको मूल्य ४ रुपैयाँ कम पर्ने भएकाले सीमावर्ती क्षेत्रका भारतीय नम्बर प्लेटका गाडी तेल हाल्न नेपाल आउने गर्दछन् ।
पम्पहरुमा तेल भए पनि सर्वसाधारणले लाइनमा बस्दासमेत पाउन सकेका छैनन् । तर, कालोबजारी गर्नेहरुले मापदण्डविपरीत तेल पाइरहेकै छन् ।
जसले सर्वसाधारणलाई मर्का परेको छ । पम्प छेउछेउका पसलबाट पेट्रोलियम पदार्थको खुलेयाम कालोबजारी भइरहे पनि पेट्रोलपम्प सञ्चालक रणबहादुर चन्द भने त्यसरी तेल नदिएको दाबी गर्छन् ।
यता, पप्पहरुले कृत्रिम अभाव सृजना गरी कालोबजारीलाई प्रश्रय दिइरहँदा स्थानीय प्रशासन मुकदर्शक रहेको उपभोक्ताको आरोप छ ।
पेट्रोलियम पदार्थको कृत्रिम अभाव र कालोबजारी भए नभएको आफूहरुले निगरानी गरिरहेको कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्ट बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्