ट्रम्पको पहलमा हुने कुनै पनि शान्ति वार्ता प्यालेष्टिनीले अस्वीकार गर्ने • Image Khabar Image Khabar


ट्रम्पको पहलमा हुने कुनै पनि शान्ति वार्ता प्यालेष्टिनीले अस्वीकार गर्ने


Imagekhabar
१७ बैशाख २०७५, सोमबार ०७:५३

ट्रम्पको पहलमा हुने कुनै पनि शान्ति वार्ता प्यालेष्टिनीले अस्वीकार गर्ने

वासिंटन, वैशाख १७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा हुने कुनै पनि शान्ति सम्झौतामा प्यालेष्टिनी समूह सहभागी नहुने भएको छ । प्यालेष्टिनी स्वतन्त्रता संगठन (पिएलओ)का महासचिव साहिब एरेकातले अमेरिकी पहलमा हुने शान्ति सम्झौतामा सहभागी नहुने बताएका हुन् ।

अमेरिकी राष्ट्रपतिको सन्देश बोकेर विदेश मन्त्री माइक पोम्पेओ इजरायलमा रहेका समय प्यालेष्टिनी रेडियो ‘भ्वाइस अफ प्यालेष्टाइन’सँग गरेको कुराकानीमा एरेकातले आफूहरूलाई डोनाल्ड ट्रम्पको पहलमा हुने भनिएको सम्झौता कुनै पनि हालतमा स्वीकार्य नहुने बताए ।

ट्रम्पले इजरायलको राजधानीका रूपमा जेरूसेलमलाई मान्यता दिने घोषणा गरेर आफै शान्ति प्रक्रियाबाट एक्लिएको पिएलओ नेताको भनाइ थियो । उनले जेरूसेलमलाई इजरायलको राजधानीको मान्यता दिने अडान परिवर्तन नगर्दासम्म अमेरिका शान्ति प्रक्रियाको समन्वयकर्ता वा सदस्य हुन नसक्ने बताए ।

पूर्वी जेरूसेलमविनाको प्यालेष्टिनी राज्यको कुनै अर्थ नहुने पनि उनको भनाइ थियो । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्