विभिन्न कार्यक्रमका साथ २५६२ औं बुद्ध जयन्ती मनाइँदै • Image Khabar Image Khabar


विभिन्न कार्यक्रमका साथ २५६२ औं बुद्ध जयन्ती मनाइँदै


Imagekhabar
१७ बैशाख २०७५, सोमबार ०८:५१

विभिन्न कार्यक्रमका साथ २५६२ औं बुद्ध जयन्ती मनाइँदै

काठमाडौं, वैशाख १७ । आज वैशाख पूर्णिमा अर्थात् २५६२ औं बुद्ध जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

नेपालको लुम्बिनीमा इसापूर्व ५४३ अर्थात् २५६२ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । आजकै दिन उनले ज्ञान प्राप्त गरेका थिए भने महापरिनिर्वाण पनि आजकै दिन प्राप्त गरेका थिए ।

राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मिएका सिद्धार्थ २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लागे । ६ वर्षको ध्यानपछि ३५ वर्षको उमेरमा भारतको बोधगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान् बुद्धका रुपमा उनले विश्व प्रसिद्धि पाए ।

वैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धको पूजा गरी बुद्ध जयन्ती मनाउने चलन छ । काठमाडौँको बौद्ध, स्वयम्भूनाथ, चाबहिलमा रहेको चारुमति विहार लगायतका बौद्ध विहार, गुम्बा, स्तूप, चैत्य, रुपन्देहीको लुम्बिनी, काभे्रपलाञ्चोकको नमोबुद्ध लगायत स्थानमा आज विभिन्न कार्यक्रम आयोजना गरिँदै छ ।

वुद्ध धर्म र गौतम बुद्धका उपदेश मान्ने अनुयायीहरू नेपालसहित भारत, चीन, श्रीलंका, बर्मा, थाइल्यान्ड, लाओस, क्याम्बोडिया, भियतनाम, भुटान, जापान, मंगोलिया, कोरिया आदि देशमा फैलिएका छन् । संसारभरि फैलिएको बुद्ध दर्शनको उद्गम विन्दु नेपाल भएकाले नेपाललाई शान्तिको देश पनि भनिन्छ । गौतम बुद्धलाई हिन्दू धर्मावलम्बीहरूले भगवान विष्णुका दश अवतारहरूमध्ये एक अवतार मान्दछन् । गौतम बुद्धलाई एसियाका तारा पनि भनिन्छ ।

यसैबीच बुद्ध जयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै नेपालको भूमिमा जन्मेर मानव कल्याणका लागि ठूलो योगदान दिएका गौतम बुद्धका उपदेशहरु विश्वमै लोकप्रिय रहेको बताएका छन् ।

‘शान्तिका अग्रदूत गौतम बुद्धले सम्पूर्ण मानव जगतको कल्याण गर्न गृहत्याग गरी कठोर परिश्रमबाट प्राप्त गर्नु भएको बोधी ज्ञान आजसम्म पनि उत्तिकै शास्वत छ । बुद्ध विचारले अहिंसा, सदभाव, मानव कल्याण र मानिसकै जीवनमा शान्तिको बाटो देखाएकाले नै उहाँका विचारहरु विश्वभर यति धेरै लोकप्रिय हुन सकेका हुन्,’ शुभकामना सन्देशमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्