१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


पर्यटक तान्दै जातीय संग्रहालयहरु (भिडियो हेर्नुहोस्)


0
Shares

नवीनराज कुइँकेल/
लमजुङ, वैशाख १८ । लमजुङका विभिन्न गाउँमा निर्माण गरिएका जातीय संग्रहालय पर्यटक आकर्षण गर्ने थलो बन्दै गएका छन् ।

स्थानीय संस्कार र संस्कृतिलाई जोडेर निर्माण गरिएका संग्रहालय पर्यटन प्रवर्द्धनका लागि कोसेढुंगा बनेका हुन् ।

लमजुङमा बार्षिक एक लाखको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । गाउँगाउँमा पर्यटकको आगमन वृद्धिसँगै पर्यटकीय गाउँमा विभिन्न जातजातिका संग्रहालय निर्माण गरिएका छन् । प्राकृतिक सौन्दर्य हेर्न तथा होमस्टेको अनुभव लिन पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई संग्रहालयहरु पुरानो संस्कृति बुझ्ने थलो बन्दै गएको गाउँसहर दलित संग्रहालयका संयोजक अजय मजाकोटीले बताए ।

काउलेपानी होमस्टे नजिकैको दलित बस्तीमा दलित संग्रहालय खोलिएको छ । घलेगाउँ र राइनास होमस्टेमा गुरुङ जातिको संग्रहालय छ । भुष्मे होमस्टेमा तामाङ र तुर्लुङकोट होमस्टेमा दुरा संग्रहालय बनाइएको छ । संग्रहालयमा आ–आफ्ना जातिको पहिचान, संसार र संस्कृति झल्किने सामग्री राखिएका छन् ।

होमस्टे गाउँहरुमा निर्माण गरिएका संग्रहालयले विभिन्न जातजातिका संस्कार, संस्कृति, वेशभूषा र भाषाबारे अध्ययन गर्न सहज भएको पर्यटकहरुको भनाइ छ ।

गाउँ–गाउँमा रहेका होमस्टेमा स्वदेशीदेखि विदेशी पर्यटकहरु पुग्ने गरेका छन् । सहरको कोलाहल छल्न गाउँ छिर्ने आन्तरिक तथा बाह्य पर्यटकले नै ग्रामीण पर्यटन धानेको छ । तिनै पर्यटकलाई आकर्षित गर्न निर्माण गरिएका संग्रहालयमा स्थानीय कला संस्कृतिसँगै आ–आफ्नो जातीय संस्कारअन्तर्गत जन्मदेखि मृत्युसम्म प्रयोग हुने सामग्री राखिएका छन् ।

अध्ययन अनुसन्धानमा रुची राख्ने पर्यटकलाई जातीय संग्रहालय पुस्तकालयसरह भएको घलेगाउँ पर्यटन विकास समितिका अध्यक्ष प्रेम घलेले बताए ।

पछिल्लो समय लमजुङ होमस्टेको हव बन्दै गएको छ । लमजुङका सबैजसो स्थानीय तहमा होमस्टे सञ्चालनमा आएका छन् । बेसीशहर–चामे सडक निर्माणले अन्नपूर्ण पदमार्ग संकटमा परिरहेका बेला वरिपरिका गाउँहरुले होमस्टे सञ्चालनका साथै जातीय संग्रहालय स्थापना गरेर पनि पर्यटक ताप्ने प्रयासलाई सार्थकता दिँदै गएका छन् ।

भिडियो हेर्नुहोस्