२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


विभिन्न नाममा अस्थिरता चाहने शक्ति मुलुकको सुरक्षामा चुनौती : गृहमन्त्री


0
Shares

हेटौंडा, वैशाख १८ । गृहमन्त्री रामबहादुर थापाले विभिन्न नाममा अस्थिरता चाहने शक्ति मुलुकको सुरक्षामा चुनौतीको रुपमा रहेको बताएका छन् ।

प्रदेश नम्बर ३ स्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन मंगलबार हेटौंडा आएका गृहमन्त्री थापाले सञ्चारकर्मीसँग कुरा गर्दै समानान्तर सरकार खडा गर्ने, धर्म, जातिका नाममा राजनीतिक अस्थिरता पैदा गर्ने शक्ति नै सुरक्षा चुनौती रहेको बताए ।
आन्दोलन घोषणा गरेका यातायात व्यवसायीसँग सरकारले घुँडा नटेक्ने भन्दै उनले सिन्डिकेट खारेज गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

गृहमन्त्री थापाले मन्त्रालय मातहतका निकाय र जिल्ला प्रशासन कार्यालयबाट सिन्डिकेटको संरक्षण भएको पाए कारबाही गर्ने चेतावनी पनि दिए । अपराध, भ्रष्टाचार, तस्करी, सिन्डिकेट निस्तेज नगरी देश विकास सम्भव नभएको भन्दै उनले त्यस्ता गतिविधि नियन्त्रण र निस्तेज गर्ने क्रममा सरकार रहेको बताए ।

यसैबीच गृहमन्त्री थापाले गृहमन्त्रालयद्वारा आयोजित प्रदेश नं ३ स्तरीय सुरक्षा गोष्ठी हेटौंडामा उद्घाटन गरेका छन् ।

गोष्ठीमा प्रदेश नं ३ अन्तर्गत पर्ने १३ जिल्लाका सुरक्षा निकायका उच्च पदस्थ अधिकारीको सहभागिता छ ।