सामाजिक सञ्जालमा मोदीका बढी ‘फलोअर’ तर ट्रम्प अन्तरक्रियात्मक • Image Khabar Image Khabar


सामाजिक सञ्जालमा मोदीका बढी ‘फलोअर’ तर ट्रम्प अन्तरक्रियात्मक


Imagekhabar
१९ बैशाख २०७५, बुधबार २०:०५

सामाजिक सञ्जालमा मोदीका बढी ‘फलोअर’ तर ट्रम्प अन्तरक्रियात्मक

जेनेभामा बुधबार सार्वजनिक गरिएको एक सर्वेक्षणले यस्तो देखाएको जनाइएको छ ।

सोअनुसार ट्वीटरमा बढी सक्रिय भनिएका अमेरिकी राष्ट्रपति ट्रम्पभन्दा भारतीय प्रधानमन्त्री मोदीलाई बढी लोकप्रिय देखाएको छ ।

उक्त सर्वेक्षणकाअनुसार अमेरिकी राष्ट्रपति ट्रम्पका ट्वीटरमा दुई करोड ३२ लाखजना फलोअर रहेका छन् ।

उनको तुलनामा भारतीय प्रधानमन्त्री मोदीका भने फेसबुकमा झन्डै दोब्बर अर्थात् चार करोड ३० लाख फलोअर रहेका छन् ।

उक्त अध्ययनले एसियामा फेसबुकको बढी प्रचलन रहेकाले पनि मोदीका फेसबुक फलोअर बढी भएको अनुमान गरेको छ ।

उक्त संस्थाले विश्वका नेताहरुले के–कसरी सामाजिक सञ्जालको प्रयोग गरिरहेका छन् भन्नेबारेमा अनुसन्धान गरेको बताइएको छ ।

अनुसन्धानकाअनुसार क्याम्बोडियाका प्रधानमन्त्री हुन सेन यसरी सामाजिक सञ्जालको प्रयोग गर्ने नेतामा पाँचौं नम्बरमा परेका छन् । फेसबुकमा उनका ९६ लाख फलोअर रहेका छन् ।

तर, यस संख्यालाई भने क्याम्बोडियाका फेसबुक प्रयोगकर्ताकै कम्तीमा पनि आधा संख्या भनी आलोचना गरिएको छ ।

उक्त सर्वेक्षणले ती नेताहरुका सामाजिक सञ्जाल अकाउन्टमा पोस्ट गरिएका र तिनमा प्रतिक्रिया दिइएका विषयवस्तुलाई पनि समेटेको छ ।

उक्त सर्वेक्षणले सन् २०१७ को जनवरी १ पछिको १४ महिनामा विश्वका राज्य तथा सरकार प्रमुखका ६५० ओटा व्यक्तिगत र सरकारी सामाजिक सञ्जाल पेजहरुको अध्ययन गरेको थियो ।

जसमा अमेरिकी राष्ट्रपति ट्रम्प सबैभन्दा बढी अन्तरक्रियामा रहेका नेताकारुपमा पाइएको छ ।

यस १४ महिनाको समयावधिमा अमेरिकी राष्ट्रपति ट्रम्पको पेजमा २० करोड ४० लाखओटा प्रतिक्रिया, लाइक वा सेयर गरिएको पाइएको छ ।

तर, त्यसको तुलनामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अकाउन्टमा भने ११ करोडमात्र प्रतिक्रिया प्राप्त भएका छन् ।

उक्त अध्ययनले मोदीका बढी फलोअर तर अमेरिकी राष्ट्रपति ट्रम्प बढी अन्तरक्रियात्मक भनेर निष्कर्ष निकालेको छ ।

हरेक दिन अमेरिकी राष्ट्रपति ट्रम्पले अनुपातमा कम्तीमा पनि पाँचओटा पोस्ट गरेका छन् । तर भारतीय प्रधानमन्त्री मोदीले भने त्यसको आधामात्र गर्ने गरेका छन् । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्