२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


बझाङका गाउँमा खानेपानीको हाहाकार, धारामा पालो मिच्दा महिलाहरुबीच झगडा


0
Shares

डीबी विष्ट/ईमेज:

बझाङ, बैशाख २० । बझाङको केदारस्यु गाउँपालिकामा खानेपानीको हाहाकार भएको छ । खानेपानी नहुँदा यहाँका बासिन्दा खोलाको प्रदूषित पानी पिउन वाध्य छन् ।

केदर स्यु गाँउपालिका–७ भामचौरका बासिन्दालाई खानेपानीको चरम समस्या भएकोहो । सय परिवारभन्दा बढी बसोबास भामचौरमा खानेपानी नहुँदा खोलाबाट धमिलो तथा प्रदूषित पानी ल्याएर पिउन बाध्य छन् ।

गाँउमा भएका धारामा पानी नै आउने गरेको छैन । स्थानीयबासिन्दा पानी कै लागि बिहान सबेरैदेखि भाँडाकुँडा बोकेर दौडिरहेका देखिन्छन् ।

पानीकै कारण समस्या झेल्दा बालबालिकाको पढाइसमेत प्रभावित भएको छ । खानेपानीको चरम समस्या हुँदा पनि जनप्रतिनिधिले बेवास्ता गरिरहेको गुनासो स्थानीयको छ ।

धारामा खानेपानी न आउने र पालो कुर्नुपर्ने भएपछि धेरैजसो समयमा पानी भर्ने बेलामा पालो मिचेको भन्दै महिलाहरुबीच पटकपटक झगडासमेत हुने गरेको छ ।

बिहानैदेखि पालो कुरेर बसे पनि धारामा नियमित पानी आउँदैन । खानेपानीको मुहान सुकेका कारणले पानी आउन छाडेको हो । स्थानीय बासिन्दा गाउँ नजिकको खोलाबाट धमिलो र फोहोर पानी पिउन बाध्य छन् ।

खोला पनि गाँउभन्दा अलि टाढा भएकाले एक गाग्री पानी लिन दुई घन्टाभन्दा बढी समय लगाउनुपर्ने बाध्यता रहेको केदार स्यु गाउँपालिका–७ का वडाअध्यक्ष धर्मराज भट्टले समेत बताए ।

गत स्थानीय तहको निर्वाचनमा यहाँका उम्मेदवारले खानेपानीलाई प्रमुख प्राथमिकतामा राखेका थिए । उनीहरुले मत माग्न जाँदा घरघरमा खानेपानीको व्यवस्था गरिदिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

तर अहिले यहाँको समस्याप्रति निर्वाचितहरु उदासिन देखिएका छन् । गाउँमा भएको खानेपानीको समस्या समाधान गर्न सम्बन्धित निकायले तत्काल ध्यान दिनु आवश्यक छ ।