
अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी फोरम र नयाँ शक्ति विद्यार्थी युनियन सम्मिलित संयुक्त विद्यार्थी संगठनले बिहीबार प्रहरीको घेरा तोडेर तालाबन्दी गरेको हो ।
विभिन्न ११ बुँदे शैक्षिक मागसहितको ज्ञापनपत्र पेस गर्दै ती विद्यार्थी संगठनसम्बद्धहरुले जिल्ला शिक्षा अधिकारीको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।
शैक्षिक क्षेत्रमा मौलाएको शुल्कवृद्धि, कालोबजारी, अनियमितता अन्त्यको माग गर्दै अनिश्चितकालका लागि तालाबन्दी गरिएको जनाइएको छ ।
तालाबन्दीकाक्रममा प्रहरी र विद्यार्थीहरुबीच सामान्य ठेलाठेलसमेत भएको थियो ।
प्रहरीले संयुक्त विद्यार्थी संगठनलाई शिक्षा कार्यालय प्रवेशमा रोक लगाएपछि ठेलाठेल भएको हो ।
प्रहरीले विद्यार्थीलाई कार्यालय परिसरमै रोकेपछि विद्यार्थीले शिक्षा विकास इकाइ र प्रहरीविरुद्ध चर्को नाराबाजी गरेका थिए ।
प्रहरी दमन भएको भन्दै चर्को नाराबाजी गर्दै विद्यार्थी प्रहरीको घेराबन्दी तोडेर शिक्षा विकास तथा समन्वय इकाइको कार्यालयमा प्रवेश गरेका थिए । प्रहरीले भने संयमता अपनाएको देखिन्थ्यो ।
केन्द्रीय कार्यक्रमअनुसार तालाबन्दी गरिएको भन्दै संयुक्त विद्यार्थी संगठनले शुक्रबार इलाम नगरपालिका र सूर्योदय नगरपालिकामा सिटी जुलस गर्ने कार्यक्रम रहेको जनाएको छ ।
यसअघि, संयुक्त विद्यार्थी संगठनले निजी तथा आवसीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)को कार्यालयमा तालाबन्दी गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्