२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


चीनलाई उपहार दिइने गैंडा नियन्त्रणमा


0
Shares

चितवन राष्ट्रिय निकुञ्जको सुखिभार क्षेत्रबाट दुई पोथी गैंडा तथा देवीतालबाट एक भाले नियन्त्रणमा लिइएको छ ।

बाढीले बगाएपछि उद्धार गरी सौराहामा राखिएको एउटा भाले गैंडा पनि उपहार दिइने भएपछि तीन गैंडा नियन्त्रणमा लिइएको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले बताए ।

उनकाअनुसार बिहीबार सुखिभारबाट करिब दुई वर्षको पोथी गैंडा नियन्त्रणमा लिइएसँगै चीन पठाउने गैंडा नियन्त्रणकार्य सम्पन्न भएको छ ।

ती गैंडालाई सौराहामा बनाइएको ‘पिट बुमा’मा राखिएको छ । बाढीले बगाएपछि उद्धार गरिएको गैंडा प्रकृति संरक्षण कोषमा रहेको उनले बताए ।

पठाउन लागिएका गैंडा दुई वर्ष हाराहारीका रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले बताए ।

बच्चा गैंडा आमासँगै रहने भएकाले नियन्त्रण गर्न निकै कठिन भएको प्रमुख ढकालले बताए ।

गैंडाको बच्चा तीन/चार वर्षसम्म आमासँगै रहन्छ । सानो हुने हुँदा घाँसले ढाक्ने र वरिपरि मानिस र हात्ती पुगेलगत्तै भाग्ने हुँदा लिंग पहिचान गर्न कठिन भएकाले पनि नियन्त्रणमा लिन लामो समय लागेको ढकालले बताए ।

वैशाख ७ गतेदेखि निकुञ्जको प्राविधिक टोलीले गैंडाको बासस्थान र उपयुक्त ठाउँको खोजी गर्दै आएको थियो । शुक्रबारदेखि नियन्त्रणमा लिने प्रयास गरिएको हो ।

गैंडा नियन्त्रण र आनीबानीलगायत कुरा बुझ्न चिनियाँ प्रतिनिधिसँगै छन् । केही दिन पिट बुमामा राखेर गैंडाले खाना खान सहज भएपछि खुला बुमामा छाडिनेछ ।

करिब तीन महिना बुमामा राखेपछि गैंडा चीन पठाइनेछ ।

वि.सं. २०७३ असारमा प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले चीन सरकारलाई दुई जोडी गैंडा उपहार दिने निर्णय गरेका थिए ।

नेपाली विज्ञ टोली गैंडा चीन लगेपछि राख्ने ठाउँको अध्ययनसमेत गरेर फर्केको थियो । यसअघि पनि नेपालले विभिन्न देशलाई गैंडा उपहार दिँदै आएको छ । रासस