२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


प्रदेश–७ प्रदेशसभाको हिउँदे अधिवेशन सम्पन्न, २० दिनमा २१ बैठक


0
Shares

गत माघ २१ गते विधिवतरुपमा प्रदेशसभाको स्थापना भइ हिउँदे अधिवेशन सुरु भएको थियो ।

सो अवधिदेखि वैशाख २० गतेसम्म २० दिनमा २१ पटक बैठक बसेको सभामुख अर्जुनबहादुर थापाले सदनलाई जानकारी गराए । उनकाअनुसार २० दिनमा सदन चलेको समय २२ घन्टा ५२ मिनेट रहेको छ ।

सभामुख थापाले हिउँदे अधिवेशनकाक्रममा सुरुदेखि अन्त्यसम्म सदनमा भएको कार्यहरुकाबारेमासमेत जानकारी गराएका थिए ।

उनले हिउँदे अधिवेशन अन्त्यका लागि प्रदेशप्रमुख मोहनराज मल्लले पठाएको पत्र वाचन गरेर सदनलाई सुनाउँदै हिउँदे अधिवेशन अन्त्य भएको घोषणा गरेका हुन् ।

केही दिनपछि बर्खे अधिवेशन सुरु हुने संसद सचिवालयले जनाएको छ ।

हिउँदे अधिवेशनमा केही सिकाइका साथै केही महत्वपूर्ण निर्णयहरु भएको प्रदेशसभा सदस्यहरुले प्रतिक्रिया दिएका छन् ।

उनीहरुले हिउँदे अधिवेशन सफलतापूर्वक सम्पन्न भएको भन्दै खुसी पनि व्यक्त गरे ।

यसैबीच, बिहीबार बसेको हिउँदे अधिवेशनको अन्तिम बैठकबाट स्थानीय तहको कानुन निर्माणका सम्बन्धमा व्यवस्था गर्नका लागि बनेको विधेयक २०७५ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतले पारित भएको छ ।

यसअघि, विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव नआएको जनाउँदै सांसदहरुको समर्थनमा सभामुख थापाले उक्त प्रस्ताव सर्वसम्मतले स्वीकृत भएको घोषणा गरेका थिए ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा काुूनमन्त्री प्रकाशबहादुर शाहले छलफल, सुझावका लागि बुधबार उक्त विधेयक सदनमा पेस गरेका थिए । हिउँदे अधिवेशनको अन्तिम बैठकमा सो विधेयकमाथि सामान्य छलफल भएको छ ।

स्थानीय तहको कानुन निर्माणका सम्बन्धमा व्यवस्था गर्नका लागि बनेको विधेयक २०७५ माथि पाँचजना प्रदेशसभा सदस्यले आ–आफ्नो धारणा राख्दै गहन छलफल हुनुपर्नेमा जोड दिएका थिए ।

प्रदेशसभामा विधेयकमाथि उठेको प्रश्नको जवाफ दिँदै आन्तरिक मामिला तथा कानुनमन्त्री शाहले आएका सुझावलाई ग्रहण गर्दै छुटेका कुरालाई थप गरिने बताए ।