
काठमाडौं, बैशाख २२ । उत्तर कोरियाले आफ्नो समय परिवर्तन गरेको छ । उत्तरले दक्षिण कोरियासँग मिल्ने गरी समय परिवर्तन गराएको हो ।
यसअघि उत्तर कोरियाको समय दक्षिण कोरियाको भन्दा आधा घण्टा ढिला थियो ।
उत्तर कोरियाको समाचार एजेन्सी केसीएनले दक्षिण कोरियासँगको टाइम जोनसँग उत्तर कोरियाको टाइम जोन समान बनाइएको जानकारी दिएको छ ।
हालै उत्तर कोरियाका नेता किम जोङ उनले दक्षिण कोरियाको भ्रमण गर्दा टाइम जोन समान बनाउने, परमाणु परीक्षण स्थल बन्द गर्नेलगायतका सहमति भएका थिए ।
उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनले ऐतिहासिक उत्तर–दक्षिण शिखर बैठकपछि टाइम जोन मिलाउनु पहिलो व्यवहारिक कदम भएको जनाएको छ ।
यसले उत्तर एवं दक्षिण कोरियालाई एक बनाउने प्रक्रियालाई तीव्रता दिन सकिने विश्वास पनि उसले लिएको छ ।
गत अप्रिलको अन्त्यमा भएको कोरियाली शिखर वार्तापछि उत्तर कोरियाले आपसी सम्बन्ध थप मजबुत बनाउनका लागि आफ्नो घडीलाई ३० मिनेट छिटो गराएर दक्षिण कोरियासँग मिलाउने निर्णय गरेको थियो ।
सन् २०१५ देखि उत्तर र दक्षिण कोरियाको टाइम जोन अलग–अलग भएको थियो ।
त्यस समय उत्तर कोरियाले आफ्नो मानक समयलाई दक्षिण कोरियाको भन्दा ३० मिनेट ढिलो गरेको थियो ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्