
विवेक भण्डारी/ईमेज:
नवलपरासी, बैशाख २२ । पूर्वी नवलपरासीको गैंडाकोटका किसान गैंडाको आतंकले हैरान भएका छन् ।
विशेष गरी मध्यवर्ती क्षेत्रका बासिन्दा गैंडाको आतंकका कारण त्रसित हुने गरेका छन् । उनीहरुले रात दिन गैंडाको त्रासमा बाँच्नुपरेको गुनासो गरेका छन् ।
चितवन राष्ट्रिय निकुञ्जबाट आएका गैंडाले किसानले लगाएको मकै, उखु, केरा, तरकारीलगायतका बालीमा क्षति पुर्याउने गरेका छन् ।
गैंडाकोटलाई मकैको पकेट क्षेत्रको रुपमा स्थापित गर्ने उद्देश्यले मकै खेती सुरु गरेको किसान अव गैंडा आतंकका कारण विस्तापित हुनुपर्ने अवस्था आएको बताउँछन् ।
निकुञ्जबाट आएका गैंडाले किसानले लगाएको वाली खाएर नष्ट गर्ने गरेका छन् ।
रातीको समयमा ४/५ वटा गैंडा एकैसाथ गाउँमा पस्ने गरेका छन् । गैंडा धपाउन यहाँका बासिन्दा रातदिन समूह बनाएर बस्ने गरेका छन् ।
गैंडाको आतंकबाट सबैभन्दा बढी गैंडाकोटको वडा नं. ६, ७, ८ र ९ का बासिन्दा प्रभावित छन् ।
गैंडा नियन्त्रणका लागि नगरपालिकालगायत सम्बन्धित निकायलाई पटकपटक आग्रह गर्दा पनि सुनुवाई नभएको स्थानीयको गुनासो छ ।
नगरपालिकाले भने गैंडा नियन्त्रणका लागि प्रयास गरिरहेको जनाएको छ ।
गैंडाकोट नगरपालिकाकी उपमेयर विष्णुकुमारी कँडेलले केन्द्रबाटै सहयोग लिएर भए पनि गैंडा नियन्त्रणको दीर्घकालीन उपाय अबलम्बन गरिने बताइन ।
चितवन राष्ट्रिय निकुञ्जले हात्तीको प्रयोग गरेर गैंडा धपाउने गरेको छ । तर त्यो दीर्घकालीन समाधान होइन ।
केन्द्रीय सरकारले नै गैंडा नियन्त्रणका लागि प्रभावकारी उपाय अबलम्बन नगर्ने हो भने गैंडाकोटका धेरै किसान विस्थापित हुने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्