
काठमाडौं, बैशाख २२ । राष्ट्रपति विद्यादेवी भण्डारीले उपचाररत वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् ।
पित्त थैलीको क्यान्सरबाट पीडित डा देवकोटाको स्वास्थ्य अवस्थाका बारेमा बुझ्न राष्ट्रपति भण्डारी शनिबार बाँसबारीस्थित न्यूरो अस्पताल पुगेकी थिइन ।
राष्ट्रपति भण्डारीले डा देवकोटासँग संक्षिप्त कुराकानी समेत गर्नुभएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।
भेटका क्रममा राष्ट्रपति भण्डारीले देवकोटाको शीघ्र स्वास्थ्य लाभको कामना गरिन ।
बेलायतको एक अस्पतालमा उपचारका लागि पुगेका डा देवकोटा केही दिनअघि मात्रै स्वदेश फर्किएका थिए ।
त्यस्तै, गृहमन्त्री रामबहादुर थापा‘ बादल’ले उपचाररत डा.उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
डा देवकोटाको स्वास्थ्य अवस्थाका बारेमा बुझ्न गृहमन्त्री थापा आज बाँसबारीस्थित न्यूरो अस्पताल पुगेका हुन ।
भेटमा गृहमन्त्रीले डा देवकोटाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै संक्षिप्त कुराकानीसमेत गरे ।
गृहमन्त्रीले डा देवकोटाको उपचारमा संलग्न चिकित्सहरुसँग उनका पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी लिए । रासस
प्रतिक्रिया दिनुहोस्