उपत्यकाबाट ४५ मेट्रिकटन फोहर व्यवस्थापन • Image Khabar Image Khabar


उपत्यकाबाट ४५ मेट्रिकटन फोहर व्यवस्थापन


Imagekhabar
२२ बैशाख २०७५, शनिबार १५:१५

उपत्यकाबाट ४५ मेट्रिकटन फोहर व्यवस्थापन

वाग्मती सफाइ महाअभियानको २६०औं र तिलगंगा खन्डको वाग्मती सफाइको १६३औं हप्ताको सफाइ संयुक्तरुपमा तिलगंगा क्षेत्रमा गरी १० मेट्रिकटन फोहर व्यवस्थापन गरियो ।

सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, न्यानो स्पर्श, मुक्तिनाथ विकास बैंक, रेयुकाइलगायत संस्थाका गरी ३०० भन्दा बढी अभियन्ताको सहभागिता रहेको अभियन्ता माला खरेलले राससलाई जानकारी दिइन् ।

वाग्मती सफाइमा ब्लुक्रस अस्पतालले एम्बुलेन्ससहित स्वास्थ्यकर्मीको समूह पनि परिचालन गर्दै आएको छ ।

सफाइमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले सफाइ अभियान सुरु भएपछि बाटो हिँड्न सकिने भएको अनुभव सुनाए ।

गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियानको २२१औं हप्ताको कार्यक्रमअन्तर्गत् गोकर्णेश्वर नगरपालिका वडा नम्बर–४ स्थित वाग्मती उत्तरतिर बगेको कान्तिभैरव मन्दिरअघिको नदी किनारमा सफाइ गरियो । उत्तरबाहिनीसमेत भनिने यो क्षेत्र शास्त्रीय दृष्टिले महत्वपूर्ण मानिन्छ ।

सफाइबाट एक मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अभियन्ता उत्तम पुडासैनीले जानकारी दिए । नकुहिने फोहर गोकर्णेश्वर नगरपालिकाले व्यवस्थापन गर्‍यो । कुहिने फोहर खाडल खनेर पुरियो ।

सफाइमा वाग्मती सुन्दरता सरोकार मञ्च, कान्तिभैरव गुरुकुल, पुडासैनी मैत्री समाज, राम्रो जोरपाटी, हाम्रो जोरपाटी, गोकर्ण माविका विद्यार्थीलगायत स्थानीयवासी गरेर २०० भन्दा बढीको सहभागिता थियो ।

सफाइमा गोकर्णेश्वर नगरपालिका वडा नम्बर–४ का अध्यक्ष श्रीकुमार श्रेष्ठलगायत सदस्यको पनि सक्रिय सहभागिता थियो ।

गुह्येश्वरीमाथिको वाग्मती सफाइको २२२औं हप्ताको सफाइ वैशाख २९ गते शनिबार वाग्मती, सूर्यमती र चन्द्रमती नदीको संगमस्थल गोकर्णेश्वर महादेव मन्दिर परिसरमा गरिने भएको छ । सफाइको संयोजन नगरपालिकाको वडा नम्बर–४ कार्यालयले गर्ने जनाइएको छ ।

रुद्रमती सफाइको २१५औं हप्तामा रातोपुलबाट मैतीदेवी मन्दिरसम्म जनचेतनामूलक सफाइ गरी एक मेट्रिकटन फोहर व्यवस्थापन गरियो ।

सो अवसरमा मन्दिर परिसरमा ढलेको एउटा रुख काटेर व्यवस्थापन गरिएको अभियन्ता रोहित गिरीले जानकारी दिए ।

सफाइमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, रुद्रमती सरोकार समाज, वातावरण संरक्षण अभियान, प्रसिद्धि कला समूहलगायतको संस्थागत सहभागिता थियो । सफाइमा २०० भन्दा बढी अभियन्ता सक्रिय थिए ।

विष्णुमती सफाइ अभियानको १८७औं हप्तामा तारकेश्वर नगरपालिकाको आनन्दटोल क्षेत्रमा सफाइ गरियो । शनिबारको सफाइबाट पाँच मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अभियन्ता अनिल धरेलले राससलाई जानकारी दिए ।

सो अवसरमा आनन्द टोल, जागरण टोल र सिद्धेश्वर टोलका स्थानीयवासीको सक्रियतामा त्यस क्षेत्रमा सफाइ चेतना फैल्याइएको उनले बताए ।

चक्रपथ सफाइको ५६औं हप्तामा शनिबार तिलगंगा क्षेत्रमा सफाइ गरी १८ मेट्रिकटन फोहर व्यवस्थापन गरियो । सफाइमा २५० भन्दा बढी अभियन्ताको सहभागिता थियो ।

सफाइमाक्रममा सडक र सार्वजनिक जग्गा मिचेर बनाइएका ८ ओटा टहरा पनि भत्काइयो ।

सार्वजनिक जग्गामा बनेका र निजी जग्गामा पनि नक्सापास नगरी बनाइएका टहरा भत्काइएको सफाइ संयोजक लोकबहादुर टण्डनले बताए ।

काठमाडौं महानगरपालिका वडा नम्बर–३१ स्थित आलोकनगर सफाइको ५६औं हप्तामा मातृशक्ति सफाइ समूहले डष्टविन व्यवस्थापन, घरदैलो जनचेतनामूलक अभियान सन्चालन गरेको सफाइ संयोजक प्रमिला पौडेलले राससलाई जानकारी दिइन् ।

चक्रपथ–बाफल खन्ड सफाइको ३८औं हप्तामा मिलनटोल क्षेत्रमा सफाइ गरी दुई मेट्रिकटन फोहर व्यवस्थापन गरियो ।

सफाइमा स्थानीयवासीको सक्रिय सहभागिता रहेको सफाइ संयोजक ताराबहादुर कुँवरले जानकारी दिए । सडकमा फोहर थुपार्नेलाई नै उठाउन लगाइएको सफाइ अभियानले जनाएको छ ।

वि.सं. २०७० जेठ ५ गतेदेखि सुरु भएको वाग्मती सफाइ महाअभियानबाट प्रभावित भइ हालसम्म देशका ४५ भन्दा बढी स्थानमा सफाइ अभियान चलिरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्