२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


देशभर मदिरा नियन्त्रण अभियान चलाइने, यस्तो छ तयारी


0
Shares

गृहले देशभर निश्चित क्षेत्रमा निश्चित समयमामात्रै मदिरा बिक्री–वितरण र प्रयोग गर्न पाउने गरी कार्ययोजना बनाउन लागेको हो ।

सोहीक्रममा आइतबार गृहमन्त्री रामबहादुर थापाले विभिन्न राजनीतिक पार्टी आबद्ध महिला नेत्री र महिला सांसदसँग गृह मन्त्रालयमा सो विषयमा छलफल गरेका छन् ।

छलफलमा गृहमन्त्री थापाले समाज, परिवारमा विखन्डनको प्रमुख कारण मदिरा रहेको र यसको नियन्त्रण गर्ने तयारी थालेको भन्दै यसमा रचनात्मक सुझाव र सहयोगका लागि महिला नेत्रीहरुसँग आग्रह गरे ।

उनले पछिल्लो समय बढिरहेको महिला हिंसाको कारणसमेत मदिरा नै रहेको भन्दै मदिराबाट राज्यले पाउँदै आएको करभन्दा त्यसको प्रयोगले समाजमा ल्याएको विकृति कैयौं गुणा घातक रहेको टिप्पणी गरे ।

देशभर रहेका करिब ६ हजार ५०० स्थानीय तहका वडाहरुमा विभिन्न राजनीतिक पार्टी आबद्ध महिला संगठनका प्रतिनिधि, जनप्रतिनिधि, आमा समूह, नागरिक समाज र सुरक्षाकर्मी रहनेगरी समिति गठन गरी वडास्तरबाटै जनसहभागितामा मदिरा नियन्त्रणको अभियान सन्चालन गर्ने मन्त्रालयको तयारी रहेको उनले जानकारी दिए ।

यसका लागि मन्त्रालयले विस्तृत् खाका बनाइरहेको र अभियान केन्द्रको प्रयासलेमात्रै सम्भव नरहेको भन्दै वडास्तरबाटै सन्चालन गरिने गृहमन्त्री थापाको भनाइ छ ।

यसका लागि तत्काल मन्त्रालयले ६ महिने अभियान सन्चालनका लागि आवश्यक गृहकार्य गरिरहेको गृहमन्त्रीले जानकारी दिए ।

उनले अभियानसँगै मदिरा नियन्त्रणको जागरण अभियान र भन्डाफोर कार्यक्रम आयोजना गरिने बताए ।

उनले अनुमति नलिइ र मापदन्ड नपुगी सन्चालनमा ल्याइएको मदिरा पसललाई नियन्त्रणमा लिन सुरक्षाकर्मी तत्काल परिचालन गरिने बैठकमा जानकारी दिए ।

विकास र समृद्धिको बाधक तथा भ्रष्टाचारको कारकसमेत मदिरा रहेको भन्दै यसलाई व्यवस्थित गराएरै छाड्ने प्रतिबद्धता बैठकमा गृहमन्त्रीले व्यक्त गरे ।

मदिरा नियन्त्रणसँगै लागुऔषध नियन्त्रणलाई पनि साथसाथै अभियानकारुपमा लैजाने तयारी मन्त्रालयले गरिरहेको उनको भनाइ छ ।

कार्यक्रममा पूर्वसचिव तथा राष्ट्रिय सूचना आयोगका अध्यक्ष कृष्णहरि बाँस्कोटाले मदिरा नियन्त्रणका उपायका सम्बन्धमा कार्यपत्र प्रस्तुत् गरेका थिए ।

छलफलमा महिला नेत्रीहरुले मदिराबाट सबैभन्दा बढी पीडित महिला रहेको भन्दै मदिरा नियन्त्रण अभियानमा साथ दिन तयार रहेको बताएका थिए ।

उनीहरुले पहिलो चरणमा मदिरा नियन्त्रण र दोस्रो चरणमा मदिरा निषेध नै गर्नेगरी कार्ययोजना ल्याउन गृहमन्त्रीलाई सुझाव दिए ।

उनीहरुले मदिरा नियन्त्रणका लागि आवश्यक नियम, निर्देशिका र संयन्त्रकोसमेत तत्काल विकास गर्नुपर्ने बताए ।

विगतमा टोल, गाउँ र जिल्लागतरुपमा यस्तो अभियान सन्चालन गरिएपनि यसपटक केन्द्रस्तरबाटै अभियान सुरु गर्न लागिएकाले अभियान सफल हुनेमा छलफलमा सहभागी सबैको एकमत रहेको थियो । रासस