१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


बालशिक्षालाई सरकारले उच्च प्राथमिकता दिनेछ: प्रधानमन्त्री ओली


0
Shares

काठमाडौं, बैशाख २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालशिक्षालाई सरकारले उच्च प्राथमिकता दिने बताएका छन् ।

दक्षिण एसियाली बालअधिकारकर्मीको आज काठमाडौंमा भएको सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले ग्रामीण क्षेत्रका बालबालिका शिक्षाबाट बन्चित हुन नपरोस् भन्ने सरकारको नीति रहेको प्रष्ट पारे ।

उनले गुणस्तरीय शिक्षा बालबालिकाको नैसर्गिक अधिकार भएकाले शिक्षामा समानता सरकारको प्राथमिकता भएको उल्लेख गरे ।

अझै पनि ग्रामीण क्षेत्रमा धेरै बालबालिका शिक्षाबाट बन्चित हुनु परेको तथ्यांक सरकारसँग रहेको भन्दै प्रधानमन्त्री ओलीले अब प्रत्येक बालबालिकाको प्रथम ढोका विद्यालय हुने बताए ।

सबै तहका बालबालिकाले शिक्षा लिने वातावरण सिर्जना गर्न सरकारले निःशुल्क शिक्षामा जोड दिएको प्रधानमन्त्रीको भनाई थियो ।

उनले दक्षिण एसियाका बालबालिकाको शैक्षिक अधिकार सुरक्षित गर्न सार्क क्षेत्रका बालअधिकारकर्मी एक हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले शिक्षा क्षेत्रमा भएको मनपरीतन्त्रको अन्त्य गरिने बताए ।

उनले बाल शिक्षालाई प्रभावकारी बनाउन शिक्षालाई ग्रामीणमुखी बनाइने प्रतिबद्धता व्यक्त गरे ।

सार्क राष्ट्रका बालअधिकारकर्मीको सामुहिक प्रयास बालबालिकाको हितको लागि हुनुपर्ने उनको भनाई थियो । तीनदिने सम्मेलनमा सार्क क्षेत्रका बालअधिकारकर्मी सहभागी छन् ।