
राष्ट्रिय सुरक्षा परिषदको १७औं सचिवालय बैठकलाई सोमबार सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘कहिले जनताका नाममा र कहिले जातिका नाममा आतंक मच्चाउनेहरुलाई नछाडिने’ चेतावनी दिए ।
‘राष्ट्र निर्माणको महाअभियानमा लागेका बेला यसलाई विभिन्न नाममा अवरोध गर्नेहरुप्रति सरकार टुलुटुलु हेरेर बस्दैन’–उनले भने ।
प्रधानमन्त्री ओलीले अगाडि थपे–‘राष्ट्रअघि बढ्न लागेका बेला बाटोमा बम हान्ने, जनता एकजुट भएका बेला विखन्डनका कुरा गर्ने, धार्मिक विद्वेष फैलाउनेहरुबाट सजग हुनुपर्छ ।’
नेपाल लोकतान्त्रिक मार्गमा द्रुतगतिमा अघि बढ्ने र देश भौगोलिकरुपमा अखन्ड रहने बताउँदै उनले भने–‘अब प्रतिगमन र विखन्डनका कुरा गर्नु दिवा सपनामात्र हो । कसैले षड्यन्त्रको जगमा आफ्नो दुनो सोझ्याउन खोज्छ भने त्यसलाई ठिक लाउने ठाउँमा हामी छौं ।’
राष्ट्रिय सुरक्षा परिषदले विगतको द्वन्द्व, हिंसा, नाकाबन्दीमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले ‘यो सबै भूमिका नेपालको स्वाभिमानको सुरक्षा हो’–भने ।
नेपाली सेनाले सबै प्रकारका उतार–चढाव देख्दै आएको भन्दै उनले सेना राष्ट्रहितको पक्षमा उभिएको बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीले नेपालीहरु तोपसँग खुकुरीले लडेर जित हासिल गरेको जाति भएको स्मरण गरे ।
‘राष्ट्रिय सुरक्षा र नेपाली सेनालाई भित्रैदेखि बलियो बनाउनुपर्दछ’–उनले भने–‘भित्र कमजोर पार्ने तर बाहिर बलियो देखाएरमात्र हुँदैन ।’
सरकारले राष्ट्रिय सुरक्षासम्बन्धी धारणालाई समयअनुकूल ढंगले अघि बढाउने तयारी गरेको उनले बताए ।
‘विगतमा पनि हामीले गौरव गर्ने हैसियत बनाएकै हौं । दासता नस्वीकारेका र पराधीन नभएको नेपाल अनन्तसम्म यही हैसियतमा रहनेछ’–उनले भने ।
कार्यक्रममा रक्षामन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री डा. युवराज खतिवडा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाललगायतको उपस्थिति थियो । रासस
प्रतिक्रिया दिनुहोस्