
सुनसरीको बराह नगरपालिका लक्ष्मी बेङ्कटेस आश्रममा बस्ने २४ वर्षीय श्रीनिवासलाई मोरङ प्रहरीले काठमाडौंबाट सोमबार (आज) बिहान पक्राउ गरेको हो ।
सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरी प्रहरीले श्रीनिवासलाई सार्वजनिक गरेको छ ।
उनीसँगै प्रहरीले गोली प्रहार गर्ने चितवनको भरतपुर महानगरपालिका वडा नम्बर–४, बेलचोक बस्ने २९ वर्षीय माधव चौधरी र हतियार उपलब्ध गराउने नवलपरासीको गैंडाकोट नगरपालिकाका ३२ वर्षीय ‘सन्तोष’ भनिने लक्ष्मीराज अधिकारीलाईसमेत सार्वजनिक गरेको छ ।
आचार्य श्रीनिवासले नेपाललाई हिन्दुराज्य कायम गराउन विभिन्न समयमा आन्दोलन चलाएपनि सफल हुन नसकेपछि जनता र धर्मगुुरुलाई उक्साउन आफैंमाथि गोली प्रहार गर्न लगाएको प्रहरीको अनुसन्धानकाक्रममा खुलेको मोरङका प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले बताए ।
श्रीनिवासले नै अधिकारी र चौधरीलाई आफूमाथि गोली प्रहार गर्न लगाएको प्रहरीको दावी छ ।
पछिल्लो समय श्रीनिवासको अंगरक्षककारुपमा रहेका चौधरीलाई गोली प्रहार गर्नुअघि प्रशिक्षणसमेत दिइएको एसपी बिसीको भनाइ छ ।
आरोपी चौधरीले पूर्वयोजनाअनुसार आफूले श्रीनिवासको हातमा ५ मिटर टाढाबाट गोली प्रहार गरेपनि गोली गल्तीले दाहिने कुमको छेउमा लागेको बयान दिएका बताइएको छ ।
काठमाडौंमा उपचार गराइरहेका श्रीनिवासलाई सोमबारै बिहान काठमाडौंबाट पक्राउ गरी विराटनगर ल्याइएको थियो ।
मोरङको जतुवामा श्रीमद्भागवत सप्ताहको तयारी भइरहेका बेला गत चैत २५ गते राति विराटनगरमा उनलाई गोली हानिएको थियो ।
प्रतिक्रिया दिनुहोस्