
काठमाडौं, बैशाख २५ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मुक्तिनाथमा पनि नागरिक अभिनन्दन गरिने भएको छ ।
नेपालको दुईदिने राजकीय भ्रमणमा आउनुहुने प्रधानमन्त्री मोदी वैशाख २९ गते मुक्तिनाथ पुग्नुहुने कार्यक्रम छ । त्यसअघि उनलाई जनकपुर र काठमाडौंमा पनि नागरिक अभिनन्दन गरिंदैछ ।
मोदीको सम्मानमा मुस्ताङवासीले मुक्तिनाथमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम तय भएको जिल्लास्तरीय स्वागत समितिका सहसंयोजक एवं बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष इन्द्रधारा विष्टले जानकारी दिएका छन् ।
हिन्दु र बौद्ध धर्मावलम्बीको आस्थाको धरोहर मुक्तिनाथमा आउने मोदी नै उच्च विदेशी पाहुना भएकाले मुक्तिनाथको विश्वव्यापी प्रचारका लागि पनि अभिनन्दन गर्न लागिएको उनको भनाइ छ ।
मोदीलाई मुक्तिनाथ क्षेत्रको मौलिक कला संस्कृति पनि देखाउने छ ।
मोदीको विशेष पूजाका लागि मुक्तिनाथ मन्दिरको मर्मत र रंगरोगन, अतिविशिष्ट कक्ष तयार, १०८ धारा, शौचालयको सरसफाइ र हेलिप्याड निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले जानकारी दिए ।
उच्च विदेशी पाहुना आउने भएपछि मुस्ताङ र म्याग्दीको सिमाना घाँसा, मनाङको थोराङ पासमा सुरक्षा गस्ती बढाइएको छ ।
यसैबीच मोदीको भ्रमणलाई लक्षित गरी मुस्ताङको मुक्तिनाथमा मिनी आइसियु कक्ष पनि स्थापना गरिएको छ । आइसियूमा नेपाल र भारतका विशेषज्ञ चिकित्सक रहनेछन् ।
प्रतिक्रिया दिनुहोस्