सी र किमबीच फेरि भेटवार्ता, सीले गरे किमको प्रशंसा • Image Khabar Image Khabar


सी र किमबीच फेरि भेटवार्ता, सीले गरे किमको प्रशंसा


Imagekhabar
२५ बैशाख २०७५, मंगलवार २०:४७

सी र किमबीच फेरि भेटवार्ता, सीले गरे किमको प्रशंसा

कोरियाली प्रायद्वीपमा लामो समयदेखि देखिएको तनाव र उत्तर कोरियाको आणविक हतियार परीक्षणपछि अमेरिकालगायत अन्तर्राष्ट्रियस्तरमा देखिएको तनाव अन्त्य गर्ने प्रयासस्वरूप उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच हुन लागेको शिखर सम्मेलनको पूर्वसन्ध्यामा भएको दुई कम्युनिष्ट नेताबीचको भेटलाई विशेष महत्वका साथ लिइएको छ ।

चीनले वासिङ्टनलाई वार्तामा ल्याउन मध्यस्थता गरिरहेको भन्ने खबरहरू सन्चारमाध्यममा आइरहेका समय भएको भेटमा किमले अमेरिकी राष्ट्रपति ट्रम्पसँगको वार्ताका लागि सरसल्लाह गरेको बताइएको छ ।

‘असल संस्कृतिको विकास’
यसैबीच, चिनियाँ भूमिमा भएको कार्यक्रममा कोरियाली नेता किमले भने–‘चिनियाँ राष्ट्रपति तथा कम्युनिष्ट पार्टीका महासचिव सी र मेरोबीचमा चीन र उत्तर कोरियाबीच ऐतिहासिक बैठक गरी दुई एसियाली मुलुकको विकास र सम्बन्ध सुधारका लागि अभूतपूर्व ढंगबाट अघि बढ्ने असल संस्कृतिको विकास भएको छ ।’

‘करिब एक महिनाको समयमा राष्ट्रपति सीसँग भएको मेरो यो दोस्रो भेटले हामीबीचको आपसी विश्वास र प्योङयाङ र बेइजिङबीच बृहद विकासका लागि मित्रवत एवं समन्वयकारी भूमिकाको लागि नयाँ अध्याय सुरु भएको छ’–उनले भने–‘यसले नयाँ युगको मागलाई सम्बोधन गर्नेछ ।’

किमको प्रशंसा
यसैबीच, कोरियाली प्रायद्वीपमा रहेको तनावबारे बोल्दै चिनियाँ राष्ट्रपति सीले भने–‘भेटमा आफू र किमबीच भएको पहिलो भेटमा विचारहरूको आदान–प्रदान भएको र पछिल्लो भेटमा किमले कोरियाली प्रायद्वीपमा रहेको तनावलाई सहज पार्न सक्रिय वार्ता प्रयास गरेको पाएँ ।’

उनले तनावलाई सहजरूपमा अन्त्यका लागि रचनात्मक भूमिका खेलेको भन्दै किमको प्रशंसा गरे ।

उनले कोरियाली प्रायद्वीपलाई आणविकरूपमा निःशस्त्रीकरण गर्न गरेको उत्तर कोरियाली प्रतिबद्धतामा सहयोगी भूमिका खेल्ने र वासिङ्टन र उत्तर कोरियाबीचको वार्तामा मध्यस्थता एवं परामर्श दिने बताए ।

उक्त अवसरका कोरियाली कम्युनिष्ट पार्टीका पछिल्ला गतिविधिबारे नेता किमले चिनियाँ कम्युनिष्ट पार्टीका महासचिवसमेत रहेका सीलाई जानकारी गराएका थिए । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्