‘मानवीय कानुनको गम्भीर उल्लंघन गर्नेलाई क्षमादान दिइँदैन’ • Image Khabar Image Khabar


‘मानवीय कानुनको गम्भीर उल्लंघन गर्नेलाई क्षमादान दिइँदैन’


Imagekhabar
२५ बैशाख २०७५, मंगलवार २०:५५

‘मानवीय कानुनको गम्भीर उल्लंघन गर्नेलाई क्षमादान दिइँदैन’

बेलायतको तल्लो सदन ‘हाउस अफ कमन्स’का सांसद निजेल इभान्सको नेतृत्वमा नेपाल भ्रमणमा रहेको बेलायती सांसदहरुको प्रतिनिधिमन्डलसँग मंगलबार भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले सो धारणा राखेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

भेटमा प्रधानमन्त्री ओलीले विश्व राजनीतिमा नेपालले तटस्थता कायम राख्ने बताउँदै चीनको ‘वेल्ट एन्ड रोडको योजना’ र भारतको ‘सबैको साथमा सबैको विकास गरिने’ नारा दुवै नेपालको हितमा रहेको धारणा व्यक्त गरे ।

द्वन्द्वकालीन घटनाहरुका सम्बन्धमा प्रतिनिधिमन्डलले राखेको जिज्ञासाको जवाफमा प्रधानमन्त्री ओलीले नेपालको कानुन र शान्ति–प्रक्रियासँग सम्बन्धित दुई आयोगले संक्रमणकालीन न्यायलाई टुंग्याउने विश्वास दिलाए ।

उनले द्वन्द्वको दुवै पक्षमध्येका जोसुकै भएपनि मानवअधिकार तथा मानवीय कानुनको गम्भीर उल्लंघन गर्नेहरुलाई क्षमादान नदिइने प्रस्ट पारेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

नेपाल भाषिक र सांस्कृतिक विविधताले भरिपूर्ण धर्मनिरपेक्ष देश भएकाले कुनैपनि धर्म, संस्कृति अँगाल्नेप्रति राज्यले भेदभावको नीति अंगीकार नगरेको उनले प्रस्ट पारे ।

संविधानका ३१ ओटा धारामा मौलिक हकहरुको व्यवस्था गरिएको बताउँदै प्रधानमन्त्री ओलीले निर्वाचित निकायमा ४१ प्रतिशत महिलाको प्रतिनिधित्व रहेको उल्लेख गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्