आज कानून दिवस, विभिन्न कार्यक्रम गरेर मनाईदै • Image Khabar Image Khabar


आज कानून दिवस, विभिन्न कार्यक्रम गरेर मनाईदै


Imagekhabar
२६ बैशाख २०७५, बुधबार ११:१५

आज कानून दिवस, विभिन्न कार्यक्रम गरेर मनाईदै

काठमाडौं, बैशाख २६ । आज कानून दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइदैछ । यस अवसरमा सर्वोच्च अदालतले एक कार्यक्रम राखेको छ ।

कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्रीदेखि समाजका विभिन्न क्षेत्रका व्यक्तित्वहरु सहभागि हुनेछन् । त्यसक्रममा पूर्व प्रधानन्यायाधीशहरुलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ ।

नेपाल प्रधान न्यायालयको ऐन, २००८ लागू भएको दिनको स्मरणमा प्रत्येक वर्ष यो दिवस मनाउने गरिन्छ । कानून दिवस नेपालको न्यायिक इतिहाससँग सम्बन्धित रहेको छ ।

कानून दिवसका अवसरमा कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले शुभकामना दिँदै न्यायपूर्ण समाज स्थापनार्थ संविधान र कानून कार्यान्वयनको जिम्मेवारी प्राप्त निकाय, पदाधिकारी, सरोकारवाला लगायत समस्त समुदायलाई विधिको शासनको मर्मप्रति समर्पित भई क्रियाशील रहन थप प्रेरणा, उर्जा र सामथ्र्य प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।

विधिको शासनको प्रत्याभूति दिलाई विकास, शान्ति र समृद्धिको सुनिश्चिताका लागि स्वतन्त्रता र व्यावसायिकता अविचलित राख्न उनको आग्रह छ ।

विकास र समृद्धितर्फ उन्मुख हुँदै गर्दा जनप्रतिनिधिमूलक राजनीतिक नेतृत्व न्यायपूर्ण समाज स्थापनाको उद्देश्यप्रति उदासीन हुन पुगेको वर्तमान समयमा प्राप्त अरु सबै उपलब्धि गौण हुन पुग्दछन् भन्नेमा सजग हुनुपर्ने उनको भनाइ छ ।

राज्यका अन्य निकायको महत्व र आवश्यकता जति छ, न्यायपालिकाको सार्थक उपस्थिति र भूमिका पनि उत्तिकै अपरिहार्य हुने कामु प्रधानन्यायाधीशले जोशीले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्