२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


आर्मीलाई पराजित गर्दै मनाङ फाइनलमा, पुलिससँग उपाधि भिडन्त


0
Shares

बुधबार भएको दोस्रो सेमिफाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ‘टाइब्रेकर’मा ५–४ ले पराजित गर्दै मनाङ उपाधिनजिक पुगेको हो ।

दमक बहुमुखी क्याम्पसको मैदानमा भएको खेलको निर्धारित् ९० मिनेटको समयमा दुवै टिमबाट १–१ गोलको बराबरी भएपछि खेलको विजेता सीधै टाइब्रेकरबाट टुंग्याइएको हो ।

पेनाल्टी सुटआउटमा मनाङका सुजल श्रेष्ठ, विमल बस्नेत, कमल श्रेष्ठ, अन्जन विष्ट र हेमन गुरुङले गोल गरे ।

यस्तै, आर्मीका भरत खवास, जर्जप्रिन्स कार्की, सन्तोष तामाङ र विवेक बस्नेतले गोल गरे भने दीपक गुरुङको प्रहार मनाङका गोलरक्षक विशाल श्रेष्ठले रोकेका थिए । खेलको ‘म्यान अफ दी म्याच’ घोषित हुँदै गोलरक्षक श्रेष्ठले नगद ११ हजार रुपैया पाए ।

यसअघि, आर्मीका टंक बस्नेतले खेलको ३०औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । मनाङका दीपक राईले ४७औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।

मनाङले अब उपाधिका लागि यही वैशाख २८ गते हुने फाइनलमा नेपाल पुलिस क्लबको सामना गर्नेछ । मंगलबार भएको पहिलो सेमिफाइनलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई पराजित गर्दै पुलिस फाइनलमा पुगिसकेको छ ।

१० टिमले सहभागिता जनाएको प्रतियोगिताको विजेता टिमले नगद १३ लाख ११ हजार तथा उपविजेताले ६ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिता दमक नगरपालिका, नगरखेलकुद विकास समितिले आयोजना गरेको हो ।