६ जेष्ठ २०८२, मंगलबार | Wed May 21 2025


राखेप उपाध्यक्षमा तिमल्सिना


0
Shares

काठमाडौं, कात्तिक २८ । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले राष्ट्रिय खेलकुद परिषदको उपाध्यक्षसहित तीन सदस्यलाई बुधबार शपथ खुवाएका छन् ।

मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा नवनियुक्त सदस्यत्रय पीताम्बर तिमल्सिना, इन्दिरा निरौला र राजेश गुरूङलाई मन्त्री विश्वकर्माले शपथ खुवाएका हुन् ।

यही कात्तिक २६ गतेको मन्त्रिपरिषद बैठकले रिक्त सदस्य पदमा परिषदका पूर्वउपाध्यक्ष तिमिल्सिना, गुरुङ र पूर्वराष्ट्रिय भलिबल खेलाडी निरौलालाई नियुक्त गरेको थियो ।

सदस्यको शपथ लिएलगत्तै मन्त्रालयले तिमल्सिनालाई राखेपको उपाध्यक्षमा नियुक्त गरेको छ ।

सो अवसरमा मन्त्री विश्वकर्माले नजिकिँदै गरेको आठौं राष्ट्रिय खेलकुद तथा १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)लाई ध्यानमा राखेर काम गर्न नवनियुक्त सदस्यलाई निर्देशन दिए ।

‘पूर्वाधार अभावले हामीले केही महिना आठौं राष्ट्रिय खेलकुदको मिति सारेका छौं’–मन्त्री विश्वकर्माले भने–‘अब सबैको ध्यान पूर्वाधारको चाँडो निर्माण र आठौं राष्ट्रिय खेलकुद तथा सागको सफलतापूर्वक सम्पन्न गर्नमा तपाइँहरुको ध्यानकेन्द्रित होस् ।’

कार्यक्रममा राखेप सदस्यसचिव केशवकुमार विष्ट तथा मन्त्रालयका उच्च अधिकारीको सहभागिता थियो ।

पर्शुराम क्यानडा प्रस्थान

कराँते खेलाडी पर्शुराम बाँस्तोला १९औं वार्षिक सातो कपमा सहभागी हुन बुधबार क्यानाडाको भेन्कुभर प्रस्थान गरेका छन् ।

३५ राष्ट्रको सहभागिता रहने सो प्रतियोगिता यही कात्तिक ३० देखि मंसिर १ गतेसम्म चल्नेछ ।

उनले एकल कातामा नेपालको चुनौती प्रस्तुत् गर्नेछन् । प्रशिक्षकमा मुकेश बरुवाल रहेका छन् ।

पर्शुरामलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य एवं नेपाल कराँते महासंघका अध्यक्ष दावा गुरुङले बुधबार बिदाइ गरे । रासस