२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीच सिंगापुरमा ऐतिहासिक भेटवार्ता हुने


0
Shares

वासिंटन, वैशाख २८ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भेटवार्ताको मिति तय भएको छ ।

उनीहरुबीच आगामी जुन १२ मा सिंगापुरमा भेटवार्ता हुने निश्चित भएको हो । भेटको स्थान र समय ट्वीटमार्फत् सार्वजनिक गर्दै राष्ट्रपति ट्रम्पले किम र आफूले यो भेटलाई विश्व शान्तिका लागि विशेष क्षण बनाउन प्रयास गर्ने पनि उल्लेख गरेका छन् ।

यो भेटसँगै उत्तर कोरियाली नेतासँग भेटवार्ता गर्ने ट्रम्प पहिलो अमेरिकी राष्ट्रपति हुनेछन् ।

बुधबारमात्रै अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ उत्तर कोरियाली राजधानी प्योङयाङ पुगेका थिए । त्यसक्रममा उत्तर कोरियाले तीन अमेरिकी बन्दीलाई रिहा गरेको थियो ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ‘ह्वाइट हाउस’ का अनुसार ट्रम्प र किमबीच हुन गइरहेको शिखर वार्ताअघि सद्भावना संकेतका रुपमा तीन अमेरिकी नागरिकलाई उत्तर कोरियाले रिहा गरेको हो ।

गत महिना उत्तर कोरियाली नेता किम पहिलो पटक दक्षिण कोरियाली भूमिमा पुगेर दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनसँग शिखर वार्ता गर्दै आणविक कार्यक्रम रोक्न सहमति गरेका थिए ।

दक्षिण कोरियासँग शिखर वार्ता भएको हप्ता दिन नबित्दै चिनियाँ विदेश मन्त्री वाङ यी पनि प्योङयाङ पुगेका थिए । किम गत सोमबार दोस्रो पटक चीन पुगेर उत्तरपूर्वी डालियान शहरमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट गरेका थिए । (एजेन्सी)