
वासिंटन, वैशाख २८ । अमेरिकाले इरानमाथि थप प्रतिबन्ध लगाएको छ ।
इरानमा शक्तिशाली मानिने रिभोलुशनरी गार्डसँग सम्बन्धित रहेको भन्दै ६ व्यक्ति र तीन कम्पनीमाथि अमेरिकाले प्रतिबन्ध लगाएको हो । उक्त समूहको बदनियतपूर्ण गतिविधिलाई लाखौं डलर उपलब्ध गराउने व्यक्ति र कम्पनीमाथि प्रतिबन्ध लगाएको अर्थमन्त्री स्टिभन मनुसिनले जानकारी दिए ।
इरानको केन्द्रीय बैंकले पनि उक्त समूहलाई अमेरिकी डलरको जोहो गर्न मद्दत गरेको आरोप लगाइएको छ । सबै इरानकै नागरिक रहेको जनाइए पनि उनीहरुको नाम भने खुलाइएको छैन ।
प्रतिबन्धसँगै अब अमेरिकाका मानिस वा संस्थाले इरानका ती व्यक्ति वा संस्थासँग व्यापार गर्न पाउने छैनन् ।
इरानी रिभोलुशनरी गार्ड सन् १९७९ मा गठन गरिएको हो । इरानको इस्लामवादी पद्धतिको बचाउ गर्ने उक्त संस्था त्यहाँको राजनीतिक, आर्थिक र सैन्य फौज पनि हो ।
अमेरिका इरानको पारमाणविक सम्झौताबाट अलग भएको दुई दिनपछि प्रतिबन्ध घोषणा गरिएको हो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्