१७ असार २०८२, मंगलबार | Wed Jul 2 2025


प्रदेश २ का मुख्यमन्त्रीले मोदीलाई भने– फेरि पनि हामीलाई स्वागतको अवसर दिनुस्


0
Shares

जनकपुर, वैशाख २८ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई फेरि–फेरि पनि प्रदेश २ मा आउन आग्रह गर्दै यस्तो स्वागतको अवसर प्रदान भइरहोस् भन्ने कामना गरेका छन् ।

भारतीय प्रधानमन्त्री मोदीको सम्मानमा जनकपुरको बाह्र विघा मैदानमा आयोजित नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले नेपालको संविधानमा अझै पनि मधेस र मधेसीमाथि विभेद कायम रहेको बताए ।

उनले राज्यका विभिन्न तहमा समान सहभागिताको अवसरबाट मधेसीहरु वञ्चित रहेको गुनासो मोदीसमक्ष गरेका हुन् । मोदीलाई सम्बोधन गर्दै उनले भने, ‘तपाई जसरी एउटा निम्न परिवारबाट भारतको प्रधानमन्त्री बन्नु भयो, हामी यहाँ पनि त्यस्तै व्यवस्था चाहिरहेका छौं ।’

नेपाल भ्रमणको सुरुवात जनकपुर र प्रदेश २ बाट सुरु गरेकोमा उनले मोदीप्रति आभारसमेत व्यक्त गरे ।