
जनकपुर, वैशाख २८ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालीको स्वाभिमान सगरमाथाभन्दा अग्लो रहेको बताएका छन् ।
जनकपुरमा आयोजित नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै उनले मिथिला संस्कृति अरुभन्दा धेरै माथि रहेकोसमेत बताए ।
‘जनकपुर आउँदा मलाई अन्त गएजस्तो महसुस भएकै छैन,’ उनले भने, ‘सबै आफ्ना जस्तो लागिरहेको छ ।’
नेपाल–भारत सम्बन्ध कुटनीति, राजनीतिभन्दा पनि माथि ‘प्रेम नीति’मा आधारित रहेको उनले बताए ।
नेपाल–भारत सम्बन्धको चर्चा गर्दै उनले भने, ‘जो मित्रको दुःखमा दुःखी हुँदैन, त्यस्ताको अनुहार हेर्दामात्र पनि पाप लाग्छ ।’ भारत जहिले पनि नेपालको विकास र उन्नति हेर्न चाहिरहेको उनको भनाइ थियो ।
विकासको पहिलो शर्त लोकतन्त्र हुने उनले बताए । नेपालमा लोकतान्त्रिक प्रणाली बलियो रहेको भन्दै उनले नेपालकै इतिहासमा पहिलो पटक सातै प्रदेशमा प्रादेशिक सरकार बनेको चर्चा गरे ।
आफ्ना नेपाली समकक्षी केपी ओलीले सुखी नेपाली, समृद्ध नेपालको सपना सजाएको उनले बताए । ओलीको यो सपना साकार होस् भन्ने कामना गर्दै उनले भारत सरकारले ‘सबैको साथ, सबैको विकास’ नारा लिएर अघि बढिरहेको चर्चासमेत गरे । उनले नेपालको विकासमा भारतले सघाउने विश्वाससमेत दिलाए ।
प्रतिक्रिया दिनुहोस्