१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


पुलिस दमक गोल्डकप च्याम्पियन, गोलरक्षक किरण चेम्जोङ उत्कृष्ट खेलाडी घोषित


0
Shares

शुक्रबार भएको फाइनल खेलमा मनाङ–मर्स्याङ्दी क्लबलाई १–० ले पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो ।

खेलको ८८औं मिनेटमा पुलिसका रेजिन सुब्बाले सुन्दर ‘हेड गोल’ गर्दै टिमलाई प्रतियोगिताको विजेता बनाए । मनाङका गोलरक्षक विशाल श्रेष्ठ अगाडि बढेको समयमा रेजिनले बललाई जाली चुमाएका थिए ।

उपाधिसँगै पुलिसले नगद १३ लाख ११ हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजेता बनेको मनाङले ६ लाख ११ हजार रुपैयाँमा चित्त बुझायो ।

खेलको ‘म्यान अफ दी म्याच’ पुलिसका अभिषेक रिजाल घोषित भए । उनले ११ हजार रुपैयाँ पाए ।

किरण चेम्जोङ उत्कृष्ट खेलाडी
प्रतियोगिताको उत्कृष्ट खेलाडी पुलिसका गोलरक्षक किरण चेम्जोङ घोषित भए । उनले एउटा अपाचे मोटरसाइकल प्राप्त गरे ।

प्रतियोगिताका उत्कृष्ट प्रशिक्षक घोषित पुलिसका अनन्त थापा, उत्कृष्ट डिफेन्डर पुलिसका सन्तोष हेमरन, उत्कृष्ट मिडफिल्डर मनाङका सुजल श्रेष्ठ र उत्कृष्ट स्ट्राइकर घोषित पुलिसका रेजिन सुब्बाले जनही २५ हजार रुपैयाँ प्राप्त गरे ।

सर्वाधिक गोलकर्ता समान ३ गोल गर्ने आर्मीका नवयुग श्रेष्ठ, एपीएफ क्लबका हरि कार्की र मदन भण्डारी स्पोर्टस् एकेडेमीका म्याक्स ओलावालेलाई नगद २५ हजार रुपैयाँ तीन भाग लगाएर वितरण गरियो ।

दमक नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा ‘ए’ डिभिजनका टिमसहित १० टोली सहभागी थिए ।