१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


उपराष्ट्रपति पुनले शिष्टाचार भेटमा मोदीसँग उठाए आपूर्ति समस्या, डुबानका विषय


0
Shares

उपराष्ट्रपति कार्यालय बहादुर भवनमा उनीहरुबीच भएको भेटवार्तामा नेपाल–भारत सम्बन्ध, आपसी हित र द्विपक्षीय चासोकाबारेमा छलफल भएको छ ।

उपराष्ट्रपति पुनले भारतीय प्रधानमन्त्रीसँगको भेटमा परापूर्वकालदेखिको नेपाल–भारतबीचको सौहार्द र सहयोगात्मक सम्बन्ध भारतीय प्रधानमन्त्री मोदीको कार्यकालको तेस्रोपटकको नेपाल भ्रमणले अझै बलियो र प्रगाढ बनाउने विश्वास व्यक्त गरे ।

उनले दुई देशबीचको उच्चस्तरीय भ्रमणले सम्बन्धमा उच्च विकास र भावनात्मकरुपमा निकटता ल्याउने काम गरेको बताउँदै नेपाल राजनीतिकरुपमा स्थायित्व हासिल गर्दै समृद्धिको मार्गमा अगाडि बढिरहेकाले नेपालको समृद्धिमा भारत सधैं सहयोगी हुने विश्वास व्यक्त गरे ।

उनले नेपालको व्यापार घाटा कम गर्दै आर्थिकरुपमा समृद्ध बन्न भारतको सहयोग चाहिने बताए ।

नेपालले वस्तु निर्यातमा सहज पहुँच र व्यापारमा सन्तुलन चाहेको उल्लेख गर्दै उपराष्ट्रपति पुनले नेपालले पारवहन तथा आपूर्तिमा बेलाबेला देखापर्ने समस्या सधैंका लागि समाधान चाहेको बताए ।

उनले नेपालको विभिन्न क्षेत्रमा भारतको ठूलो लगानीको नेपालले अपेक्षा गरेको उल्लेख गर्दै सीमा क्षेत्रमा हुने डुबान र आवत–जावतमा देखापर्ने समस्या हल हुँदै जाने अपेक्षा व्यक्त गरे ।

उनले विगतमा दुई देशबीच भएको सहमति र सम्झौता कार्यान्वयनका लागि आवश्यक संयन्त्रको विकास गर्नुपर्ने तथा सम्झौता र सन्धि दुवै देशको पारस्परिक हितअनुकूल र समयानुकूल हुनेगरी पुनरावलोकन हुने विश्वाससमेत व्यक्त गरेको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीले जानकारी दिए ।

भेटमा उपराष्ट्रपतिले भारतीय प्रधानमन्त्री मोदीको जनकपुर भ्रमण सफल रहेकामा खुसी व्यक्त गर्दै मुक्तिनाथ भ्रमणको सफलताका लागि शुभकामना दिए ।

भारतीय उपराष्ट्रपतिलाई निम्ता
उपराष्ट्रपति पुनले भारतीय प्रधानमन्त्रीमार्फत् भारतका उपराष्ट्रपतिलाई बधाइ तथा शुभकामना दिँदै उचित समय मिलाएर नेपाल भ्रमणका लागि निमन्त्रणासमेत गरे ।

उपराष्ट्रपतिसँगको भेटमा भारतीय प्रधानमन्त्रीले नेपालको विकास र समृद्धिका लागि सहयोग गर्न भारत सधैं तयार रहेको बताउँदै दुई देशबीचको सहकार्यलाई अझै फराकिलो बनाउनुपर्नेमा जोड दिए ।

भारत र नेपालबीच सहकार्य भए जस्तोसुकै काम पनि गर्नसकिने उनले बताए ।

भारतीय प्रधानमन्त्री मोदीले आफ्नो जनकपुर भ्रमण अत्यन्त सफल र ऐतिहासिक भएको उल्लेख गर्दै नेपाली जनताको उत्साह देखेर आफू थप उत्साहित भएको बताए ।

भारतीय प्रधानमन्त्री मोदीले उपयुक्त समयमा भारतका उपराष्ट्रपतिको नेपाल भ्रमण हुने पनि बताए ।

भेटमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्रसचिव शंकरदास वैरागी, उपराष्ट्रपति कार्यालयका सचिव शंकरप्रसाद अधिकारी, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुंगाना, भारतका लागि नेपालका कावा राजदूत भरतकुमार रेग्मीलगायत सहभागी थिए ।

त्यस्तै, प्रधानमन्त्री मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, विदेशसचिव विजय गोखले, नेपालका लागि भारतीय राजदूत मञ्जीभसिंह पुरी, भारतीय प्रधानमन्त्री कार्यालयका सचिव एके शर्मालगायत सहभागी थिए । रासस